बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ–पूर्वी रुकुम सडक अधुरै रहेको छ ।
निर्माण कम्पनीले लामो समय देखि काम नगर्दा बागलुङको निसीखोला गाउँपालिका–६ पातीहाल्ने सिमाना देखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रुपगा सम्मको १३ किलोमिटर सडक निर्माण सम्पन्न हुन नसकेको हो ।
विसं २०७३ जेठमा उक्त सडक कालोपत्र गर्न सम्झौता भएको थियो । अहिले सम्म ७० प्रतिशत मात्रै काम सकिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दैलेखका इन्जिनियर नवीन खरालले जानकारी दिए । विसं २०७६ जेठ सम्म काम सम्पन्न गर्नुपर्ने थियो ।
इन्जिनियर खरालका अनुसार निर्माण कम्पनीको हाल सम्म पाँच पटक म्याद थप गरिएको छ । अन्तिम पटक २०७९ भदौमा २०८० असार सम्मका लागि म्याद थप भए पनि त्यस यता निर्माण कम्पनीले काम नगरेको उनको भनाइ छ । म्याद सकिएको १६ महिना सम्म निर्माण कम्पनी काम गर्न नआएको इन्जिनियर खराल बताउछन् । सडक कालोपत्र गर्न रु ४२ करोड ९९ लाखमा सम्झौता भएको थियो ।
बागलुङ र लुकुम गाउँ बीचको सडक कालोपत्र नहुँदा यात्रा गर्न समस्या हसने गरेको छ । सडक खाल्डाखुल्डी र साँघुरो हुँदा दुर्घटनाको जोखिम रहेको छ । सडक लामो समय सम्म कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले आजित भएको भूमे गाउँपालिका–१ का पृथमान गुरुङले बताए। “यो सडक खुलेको धैरै वर्ष भयो, अहिले सम्म कालोपत्र गर्न सकिएको छैन, धुलो र हिलोले वस्तुभाउ र मानिस बिरामी पर्ने गरेका छन्”, उनले भने ।