बाजुरामा आगो बालेर पठनपाठन

राष्ट्रपाटी न्युज

मंसिर २४, २०८१

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–९ मा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय विद्यालयले आगो बालेर पठनपाठन गर्दै आएको छ।

गत आइतबार रातीदेखि यहाँ बाक्लो हिमपात सुरु भएपछि बालबालिकाहरुको पढाइमा असर नपर्ने गरी विद्यालयले बाहिर आगो बालेर बालबालिकाहरुलाई पठनपाठन गर्न थालेको हो ।

हिमपातका कारण बालबालिकाहरुको पढाइ प्रभावित हुने भएपछि अहिले आगो बालेर पढाउने गरेको विद्यालयले जनाएको छ । बाहिर बाक्लो हिमपात परिरहेको छ । तर यहाँका बालबालिकाहरु भने हातहातमा किताव समातेर राम्रोसँग पढिरहेका छन् ।

हिमपातका कारण चिसो भएपछि आगो बालेर किताब पढ्ने गरेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्र उमेश रावतले बताए । उनले भने,  “यहाँ उसै त हिउँदको महिना धेरै सिचो हुन्छ । त्यसमा पनि हिजो राति बाक्लो हिमपात परेको छ । अहिले पनि निरन्तर हिउँ परिरहेको छ । हामी सधै यसै विद्यालयमा बस्ने र खाने गर्छौ ।”

हिउँ परेको बेला चिसोले पढाइमा असर पर्ने भएकोले अहिले आगो बालेर पढ्ने गरेको रावतले बताए ।

यता सधै यसरी नै चिसो हुन्छ । हिउँ परेपनि नपरे पनि यहाँ सधै चिसो हुने ठाउँ हो । तर अघिपछि भन्दा पनि हिउँ परेको बेला त झनै चिसो हुन्छ । यो लामो समय सम्म रहे भने यहाँका बालबालिकाहरुको पढाइ छुट्ने हुन्छ । उनीहरुको पढाइमा नछुट्ने गरी यती बेला हामीले आगो बालेर पढाउँने गरेको सिद्धेश्वरी अनाथ विपन्न तथा विद्यालयका प्रधानाध्यापक तुलाबहादुर रावतले बताए ।

उनले भने, “यहाँ प्रायः सबै भोटे जनजातीका बालबालिकाहरु पढ्ने गर्दछन् । भोटे समुदायको पेशा प्रायः भेडापालन भएकोले उनीहरु कहिले औल कहिले लेकमा आउने जाने गर्दछन् । जसका कारण उनीहरुका बालबालिकाहरुको पनि पढाइ छुट्ने गर्दछ । बालबालिकाहरुको पढाइमा असर नपर्ने गरी केही वर्ष देखि हामीले उनीहरुलाई यतै राखेर पढाउने गरेको छौं । ”

यो ठाउँ भनेको उच्च हिमाली भेगमा पर्ने गर्दछ । विगतका केही वर्ष पहिला पनि यहाँ धेरै हिउँ परेको थियो । त्यो  हिउँ झण्डै एक हप्तासम्म पनि बिलाएको थिएन । त्यति बेलामा पनि हामीले यसरी नै विद्यालयमा आगो बालेर बालबालिकाहरुलाई पढाउने काम गरेको रावतले बताए ।


Published :मंसिर २४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media