रोल्पामा पहिरोले घरगोठ पुरिँदा दुईको मृत्यु, दुई घाइते

राष्ट्रपाटी न्युज

साउन २८, २०८३

बुटवल । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुईजनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन् । १० जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।

बुधबार राति करिब ८ः४० बजे माथिबाट खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित ६ वटा घर तथा गोठ पुरेको हो ।

स्थानीयको सहयोगमा राति ११ः५५ बजे २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले जानकारी दिए ।

थप उद्धार तथा खोजीका लागि बिहीबार बिहान ४ बजे विपद् उद्धार सामग्रीसहित एसओसीओ समेत १३ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ । घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक विवरणअनुसार पहिरोमा १० जना बेपत्ता रहेको खुले पनि घटनास्थलमा फोन सम्पर्क हुन नसकेका कारण थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


Published :साउन २८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media