म्याग्दीमा सुन्तला बिक्री गर्न किसानलाई भ्याइनभ्याई

म्याग्दी । बगैँचाबाट सुन्तला बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झटबाट म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान मुक्त भएका छन् । बिमका विभिन्न टोलबस्तीमा व्यावसायिक सुन्तलाखेती गरेका किसानलाई अहिले सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ ।

उत्पादन भएको सुन्तला किन्न व्यवसायीहरू बगैचामा आउन थालेपछि बजार र ग्राहक खोज्नुपर्ने झन्झट हटेको बिमको दुलेका किसान कृष्ण शर्मा बताउँछन् । ‘अहिले काठमाडौंका व्यवसायीले बगैचाबाटै सुन्तला खरिद गरेर लगेका छन्, गाउँका सबैजसो बगानमा सुन्तला खरिदका लागि व्यवसायी आइपुगेका छन्’, उनले भने ।

प्रतिकिलो ६५ रुपैयाँमा सुन्तला विक्री हुने गरेको किसानहरू बताउँछन् । शर्माले यस वर्ष दुई लाखभन्दा बढीको सुन्तला बेचे । उनको बगानमा एक सय बढी सुन्तलाका बोट छन् । गाउँमा मोटरबाटोको सुविधा पुगेपछि स्थानीयलाई सुन्तला बिक्रीका लागि बजार खोज्नुपर्ने बाध्यता हटेको हो । मोटरबाटो पुग्नुअघि स्थानीयले डोकोमा बोकेर छिमेकी गाउँ र दरबाङ बजारसम्म पुर्‍याएर सुन्तला बेच्दै आएका थिए ।


Published :पुस २, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media