भानुआतुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

पोर्ट भिला । प्रशान्त राष्ट्र भानुआतुमा मंगलबार ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पले राजधानी पोर्ट भिलामा भवनहरू ध्वस्त भएका छन् र यसमा विदेशी दूतावासहरूले प्रयोग गरेको भवन पनि समावेश छ । एक प्रत्यक्षदर्शीले एएफपीलाई सहरमा शवहरू देखिएको बताए ।

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार ७.३ म्याग्निच्युडको भूकम्प ५७ किलोमिटरको गहिराइमा भानुआतुको मुख्य टापु एफेटको तटबाट करिब ३० किलोमिटर टाढा स्थानीय समयानुसार दिउँसो १२:४७ बजे गएको थियो ।

केही मिनेटपछि ५.५ म्याग्निच्युडको पराकम्प आएको थियो । त्यसपछि ससाना कम्पनहरू आए । भूकम्पले तीन लाख २० हजार जनसंख्या भएको कम–उचाइको यो द्वीप समूहलाई भूकम्प–संवेदनशील प्रशान्त रिम अफ फायरमा हल्लायो ।

पोर्ट भिलामा अमेरिका, फ्रान्स, बेलायत, अस्ट्रेलिया र न्युजिल्यान्डको कूटनीतिक मिशनद्वारा प्रयोग गरिने चार तले कङ्क्रिट भवनको भुइँ तला पूरै भत्किएको एएफपीका फोटोहरूले देखाएका छन् ।

अमेरिकी र फ्रान्सेली दूतावासका कर्मचारीहरू सुरक्षित रहेका दुवै मुलुकले बताएका छन् । अमेरिकाले अर्को सूचना नआउन्जेलसम्म आफ्नो दूतावास बन्द गरेको छ । फ्रान्सले आफ्नो मिशन ‘नष्ट’ भएको बतायो ।

थम्पसनले कूटनीतिक भवनको भुइँ तला ध्वस्त हुनुका साथै भूकम्पले कम्तीमा दुईवटा पुल पनि खसाएको र अन्य भवनहरू पनि भत्किएको बताए । (रासस)


Published :२ पुष २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media