खाना पकाउने ग्यासलाई माघभित्र औद्योगिक र घरायसी प्रयोजनमा छुट्याउँछौँ : उद्योगमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाना पकाउने ग्यासलाई औद्योगिक र घरायसी प्रयोजनमा छुट्याएर फरक मूल्य कायम गर्ने काम माघभित्र कार्यान्वयनमा ल्याउने दावी गरेका छन् ।

नेपाल आयल निगमको वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले हाल सरकारले खाना पकाउने ग्यासमा एकमुष्ट अनुदान दिँदा वार्षिक ११ अर्ब रुपैयाँ हाराहारी खर्च भइरहेको बताएका छन् ।

अहिले प्रतिसिलिन्डर ३ सय रुपैयाँ हाराहारी अनुदान दिने गरिएको वताउँदै मन्त्री भण्डारीले अब त्यो अनुदान घरायसी प्रयोजनमा केन्द्रित गरी अनुदानको अनुभूति दिलाउने काम माघ महिना भित्रै गराउने बताए ।

अनुदान घरायसी प्रयोजनमा मात्र सीमित गर्दा वार्षिक ९ अर्ब रुपैयाँ बच्ने बताउँदै मन्त्री भण्डारीले बरु घरायसी प्रयोजनमा दिएको अनुदान अझै बढाएर आमजनतालाई सहुलियत दिने तयारी रहेको बताएका छन् ।

मन्त्री भण्डारीले यसका लागि चाडो भन्दा चाडो आवश्यक तयारी गर्न समेत निगमलाई निर्देशन दिएका छन् भने निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले त्यसको तयारी भइरहेको जानकारी दिएका छन् ।

यस्तै मन्त्री भण्डारीले आयल निगमले गर्ने व्यवसायका विकल्पहरु आइसकेकाले निगमको व्यवसाय घटिरहेको वताउँदै नयाँ ढंगले सोच्नु पर्ने बताएका छन् ।

मन्त्री भण्डारीले ‘तेलमात्रै बेचेर मुनाफामा रहेको भन्दै रमाउने अब धेरै दिन छैन, तेलमात्रै बेचेर नाफा कमायौं भनेर रमाइरहे आगामी दिनका हाम्रा यात्रा सहज छ या जोखिमपूर्ण छ भनेर हामीले सोच्नुपर्ने बेला भएको छ ।’

आयल निगमले नयाँ नयाँ चिजको खोजी गरेर गुणस्तरीय सेवा दिन सोच्नुपर्ने मन्त्री भण्डारीले बताएका छन् ।

 


Published :२६ पुष २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media