काठमाडौं । त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गतको चौथो खेलमा पनि नेपाल पराजित भएको छ । आज थाइल्याण्डसँग नेपाल ५ रनले पराजित भएसँगै उपाधि होडबाट समेत बाहिरिएको छ ।
कीर्तिपुरस्थित त्रि.वि क्रिकेट मैदानमा भएको खेलमा जितका लागि थाइल्याण्डले दिएको १ सय ८ रनको लक्ष्य पछ्याउन नसक्दा नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १ रनमै रोकियो ।
त्यसअघि टस जिेतर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो ।
नेपाल पछिल्ला तीनवटै खेलमा पराजित भएको थियो । शृंखलामा जित्ने सम्भावना कायमै राख्न नेपाललाई यस खेल जित्नैपर्ने दबाब थियो । अब नेपालले बाँकी दुवै खेल जितेपनि उपाधिका लागि पर्याप्त हुनेछैन ।
सबै टोलीले एकअर्कासँग ३-३ खेल खेल्ने शृंखलामा थाइल्याण्डको भने यो लगातार चौथो जित हो । योसँगै थाइल्याण्ड उपाधि होडमा बलियो देखिएको छ ।