काठमाडौं । ताप्लेजुङको पाथीभरा–मुक्कुमलुङका आन्दोलनरत पक्ष र सरकारबीच सहमति भएको छ । दुई पक्षबीच मंगलबार साँझ ६ बुँदे सहमति भएको हो ।
आन्दोलतरतपक्ष र सरकारी वार्ता टोलीबीच ललितपुरको हिमालय होटलमा भएको वार्तापछि पाथीभरा केवलकारको स्टेशन निर्माण कार्य तत्काललाई स्थगित गर्ने सहमति भएको छ ।
केबलकारको स्टेशनबारे आगामी माघ २७ गते हुने अर्को वार्तामा विस्तृत छलफल गर्ने सहमति पनि दुई पक्षबीच भएको हो ।
सरकारले घोषणा गरे बमोजिम गत माघ १२ गतेको र त्यस आसपास भएका आन्दोलनका क्रममा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्ने सहमति भएको छ ।
यस्तै मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने तथा छैटौँ बुँदामा मुक्कुमलुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न माघ २७ गते बिहान ११ बजे पुनः वार्तामा बस्ने सहमति भएको छ ।