श्रीमान् पूर्व अध्यक्ष ज्यूहरू
नेसनल प्याब्सन केन्द्रीय समिति
संस्थागत एवम् निजी शैक्षिक संस्थाहरूको स्थापना, सु–सन्चालन एवम् विकास मार्फत समग्र राज्यको शैक्षिक विकासमा योगदान पुर्याइरहेका शैक्षिक संस्थाहरूका विभिन्न छाता संगठनहरू मध्ये कुनैबेला सबैभन्दा जुझारु भरपर्दो र कामकाजी बनेर आमजनमानस एवम् सरोकारवालाहरू बिच अब्बल ठहरिएको नेसनल प्याब्सनलाई आज लोकलाज पचाएर हिँड्न मात्र होइन आफ्नै सदस्य (विद्यालय) हरूको विस्वास र भरोसा थेगिराख्ख समेत हम्मे हम्मे परेको सर्वविदित नै छ। अविवेकी बाबू र संस्कारहिन आमाबाट जन्मिएका सन्तानले जुन सास्ती व्यहोर्नु पर्छ त्यो भन्दा चर्को सास्ती आज यस संगठनका सदस्यहरूले व्यहोरीरहेका छन् । आफ्नो विद्यालयको शैक्षिक उन्नयन एवम् गुणस्तर अभिवृद्धिमा निरन्तर प्रयत्नशील हुँदै संस्थागत विद्यालय संचालनको क्रममा आइपर्ने तमाम किसिमका समस्या तथा चुनौतीहरूलाई निस्तेज पार्न आफू र आफ्नो संगठनलाई सबलीकरण गर्न लाग्नु पर्ने यसका सदस्यहरू बिडम्बना नै भन्नुपर्छ आज एक आपसमा हिलो छ्यापाछ्याप गरिरहेका छन् । लाग्छ अहिले यो संगठनमा कोहिपनि असल, सत्य र विस्वासीलो छैन, छ भने त्यही मात्र छ जो आफैं र आफू इतरको हो । यसरी हाल आएर नेसनल प्याब्सनको उत्पत्ति, इतिहास, अस्तित्व र वर्तमान अवस्था प्रति संगीन प्रश्नहरू खडा भएका छन् र यसको भविस्य प्रतिको चिन्ता झनै बढेको पाइन्छ ।
झलक्क हेर्दा आवरणमा सभ्य, सुसंस्कृत एवम् बौद्धिक लाग्ने शैक्षिक गतिविधि मार्फत देशकै भाग्य र भविस्य चम्काउन प्रयत्नशील व्यक्तित्वहरू यतिबेला अत्यन्तै असभ्य, अनैतिक र संस्कारहीन विचार र व्यबहारहरू पस्किरहेका छन् । नितान्त व्यक्तिगत एवम् कुत्सित स्वार्थ बोकेर छद्मरूपमा तिनै स्वार्थ पूरा गर्न नेसनल प्याब्सनको ढाकर बोक्नेहरू आखिर जति नै उच्च पद तथा ओहोदामा पुगेपनि संगठन र यसका सदस्यहरूलाई कुनै लाभ अर्थात् फाइदा नहुने बरू संगठन भित्र भित्रै धमिरा लागेर गर्लम्म ढल्ने अवस्थामा नपुग्ला भन्न सकिएन। यसरी एउटा साधारण सदस्य जुन आशा अपेक्षा र उद्देश्यका साथ संगठनमा आबद्ध भएको थियो त्यो भन्दा चौगुणा निराशा, घृणा र वितृष्णा लिएर संगठनबाट बाहिरिन तल्लिन भैरहेको छ ।
अहिलेको शीतयुद्धमा आफ्नो चातुर्यता र बहादुरी प्रदर्शन गरेर चाहे जो सुकै विजयी बनोस् तर नेसनल प्याब्सन र एउटा सच्चा नेसनल प्याब्सनिष्ट वास्तवमै पराजित हुनेछ । नेसनल प्याब्सनमा आज यो परिस्थिति कसरी उत्पन्न भयो? नेसनल प्याब्सनलाई नै पराजित गराउन प्रमुख भूमिका खेल्ने खलनायकहरू को को हुन् ? संस्थागत हक हितको संरक्षण एवम् सम्बद्र्धनमा भन्दापनि व्यक्तिगत हठ, इगो र स्वार्थले संगठनलाई नै तहसनहस कसकसले पारीरहेका छन् ? अब नेसनल प्याब्सन प्रति सोझिएका यी र यस्तै अनेकौं सवालहरूको वास्तविक एवम् तथ्यगत चिरफार गर्नु जरुरी भैसकेको छ।
आदरणीय नेसनल प्याबसनिष्ट महानुभावहरू, नेसनल प्याब्सनको आजको यो परिस्थिति सिर्जना गर्ने सबैभन्दा जिम्मेवार नेपालगन्ज (सातौं) महाधिवेशन नै हो भन्ने कुरामा कुनै दुबिधा छैन। त्यसरी नै आधा आधा कार्याकाल अर्थात् १८÷१८ महिनाको सहमति गराउने नौ सदस्यीय सर्वशक्तिमान समिति र त्यसका सदस्यहरू हुन् । अनि उक्त महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिका अध्यक्ष, पदाधिकारी र सम्पूर्ण सदस्यहरू हुन् । आदरणीय पूर्व अध्यक्ष ज्यूहरू, बरू आजको परिस्थितिको कुनै आँकलन नै नगरेर तपाईंहरूलाई विस्वास गरेर तपाईंहरूको निर्णय जस्ताको तस्तै शिरोपर गरि नेपालगन्जबाट फर्किने सामान्य सदस्यहरू नै यसका भागिदार हुन् भन्नुहुन्छ भने खुल्ला बहसका लागि सार्वजनिकरूपमा आव्हान गर्नुहोस् आफू सो का लागि तयार रहेको कुरा समेत निवेदन गर्दछु।
आदरणीय गीता राणा (क्षत्री) म्याम! नेसनल प्याब्सनको स्थापना, विकास एवम् विस्तारमा अमूल्य योगदान दिएर यस संगठनको पहिचान र पर्यायवाची जस्तै बनेकी तपाईं सबैको साझा अभिभावक बनेर आफ्नो गरिमा, मर्यादा र प्रतिष्ठालाई बचाईराख्ख भूमिका खेल्नु पर्दैन? आफैंले जन्माएको संस्थालाई दीर्घकालीन असर पुग्ने गरि नेतृत्व विकासको सामान्य अभ्यास पनि स्वतन्त्रतापूर्वक हुन नदिँदा यहाँ पछिकाले पनि यस्तै रवैया अपनाउँदै जाने हो भने भोलि यो संगठनको हविगत कस्तो हुने हो कल्पना गर्नुभएको छ?
आदरणीय कर्णबहादुर शाही सर! आदरणीय ऋतुराज सापकोटा सर! आम नेसनल प्याब्सनका सदस्यहरूको विस्वास र भरोसा जितेर यश संगठनलाई सफल नेतृत्व दिई सक्नुभएका र नेसनल प्याब्सनको इतिहासमा स्वर्ण अक्षरले नाम लेखाउन सफल तपाइँहरू आज संगठन के अस्तित्व संकटमा पर्न लागेकाबेला कहाँ गुमनाम हुनुहुन्छ ? यस्तोबेला संगठनको साख बचाईराख्ख यहाँहरूको कुनै भूमिका हुँदैन? हुनु पर्दैन ? अवस्य पर्दछ ।
आदरणीय पूर्व अध्यक्ष ज्यूहरू, यस संगठनका आम सदस्यहरूले वर्षौंदेखि आफ्नो अमूल्य समय, श्रम र सम्पत्ति लगानी गरेर तपाईंहरूलाई नेतृत्वमा स्थापित मात्र गरेका होइनन् कि यहाँहरूका हरेक निर्णय र निर्देशनहरू शीरमा राखेर यहाँहरूलाई सफल बनाउन भूमिका खेलेका छन् । यहि संगठनलाई भजाएर आफ्नो बिशिस्ट पहिचान निर्माण गर्न, यथाशक्य पद र प्रतिष्ठा प्राप्त गर्न र राष्ट्रिय एवम् अन्तरास्ट्रिय स्तरमा स्थापित हुन सक्नु भएको हो यहाँहरू। अनि आज यहाँहरू देशैभरिका आम इमान्दार तथा कर्तव्यनिष्ठ सदस्यहरूको यहाँहरूप्रतिको यत्रो ठूलो श्रद्धा, सम्मान र विस्वास नै गर्लम्म ढल्ने किसिमको गतिविधिमा संलग्न हुनु अर्थात् रहनु सान्दर्भिक र औचित्यपूर्ण होला त ?
श्रद्देय अध्यक्ष ज्यूहरू, साँच्चै नै तपाइँहरूले नेसनल प्याब्सनको नुन खानु भएको छ र नेसनल प्याब्सनिष्टहरूले तपाईंहरूलाई अथाह गुण लगाएका छन् । आदरणीय महानुभावहरू केवल एकैपटक मात्र भएपनि समरण गर्नुहोस् त ! ती गलाभरी सजाइएका खादा, माला, दोसल्ला, ब्याच र मायाका चिनो अनि उपहारहरू। ती तपाईंकै परिवारका सदस्यहरूका आतिथ्यता र सत्कारहरू। अनि तपाईं प्रती दर्शाइएका निस्वार्थ माया, स्नेह, ममता र सम्मानहरू। के ती सबै बिर्सिनु भयो? होइन सम्झिइराख्नु भएको छ भने अब यति सम्झाँदा सक्नुहुन्छ दोहोरो श्वास फेर्न सक्नुहुन्छ ढक्क फुलेको मुटुको धड्कन रोक्न? अनि सक्नुहुन्छ उद्देलित मन, मस्तिष्क र संवेदना संहाल्न? र अब अझै सक्नुहुन्छ बर्बाद भएको नेसनल प्याब्सन पर बसेर टुलुटुलु हेर्न? अनि सक्नुहुन्छ नेसनल प्याब्सन प्रतिको आफ्नो कर्तव्य बिर्सन? हो सक्नुहोला यदि तपाईं मुर्ख, अविवेकी र नक्कली बनिदिनु भयो भने तर साँच्चिकै तपाइँ बौद्धिक विवेकशील र सक्कली नेसनल प्याबसनिष्ट हो भने अवस्य नै सक्नुहुन्न ।
त्यसर्थ, आदरणीय विशिस्ट महानुभावहरू, नेसनल प्याब्सनलाई गतिदिनको लागि तपशील बमोजिमका तीनवटा विकल्प मध्ये आफूलाई ठिक लाग्ने लाग्ने कुनै एक विकल्प रोजिदिनु भए यस संगठन प्रतिको आशा, अपेक्षा र माया अलिकति मात्रै भए पनि अहिलेसम्म बचेका म लगायत समस्त सदस्यहरू आभारी हुने थियौँः–
१. जतिसक्दो चाँडो सार्वजनिकरूपमा नेसनल प्याब्सनको साधारण सदस्य समेत नरहनेगरी राजिनामा दिएर नेसनल प्याब्सनबाट अलग भएको घोषणा गरिदिनु । वा,
२. आज नेसनल प्याब्सनको बैधानिक अध्यक्ष, बैठक र महाधिवेशनको बहस चलिरहँदा नेसनल प्याब्सनको सातौँ महाधिवेशन (नेपालगन्ज) मा आधा आधा अबधिका लागि पहिलो १८ महिना श्री पाण्डव हमाल र पछिल्लो १८ महिना सुवास न्यौपाने अध्यक्ष हुनेगरी भएको सहमति झुटो हो, त्यस्तो सहमति भएकै छैन। भित्र भित्र कोठे बैठक र भेलाहरूमा भनिएजस्तो पाण्डव हमाल पुरै अबधि (तिने वर्षको लागि) विजयी भएको र सुवास न्यौपाने पराजित भएको नै हो भनेर त्यसबेला महाधिवेशन स्थलबाट भएको लाइभ प्रशारण समेतको बेवास्ता गरि आम सदस्यहरूले थाहा पाउनेगरी आँट गरेर त्यतिबेलाको सर्वशक्तिमान ९ सदस्यीय समितिका सम्पूर्ण सदस्यहरू र राष्ट्रिय स्तरका पत्रकारहरूको उपस्थितिमा पत्रकार सम्मेलन मार्फत प्रष्ट पारीदिनुहुन। वा,
३. तटस्थ ढंगले यहाँ पूर्व अध्यक्षहरू तथा सातौं महाधिवेशनमा सहमतिको निर्णय गराउन लाग्ने अन्य सबै हस्ताक्षरकर्ताहरू समेत भएर हालको विवाद सुल्झाएर आठौं महाधिवेशन सुसम्पन्न गर्न र गराउन उल्लेख्य एवम् महत्त्वपूर्ण भूमिका निर्वाह गरिदिनु हुन ।
आवस्यक परे थप बहसका लागि तयार रहेको जानकारीको निमित्त अनुरोध गर्दै।
धन्यवाद ।
जय नेसनल प्याब्सन !
नारायण बाबु तिम्सिना
(तिम्सिना नेसनल प्याब्सन काठमाडौंका उपाध्यक्ष एवं पुष्पलाल मेमोरियल स्कुलका प्रिन्सिपल हुन्। )