
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा फोहोरमैला व्यवस्थापनसम्बन्धी सचेतनामूलक तथा अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । पाँच दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रमको पहिलो दिन औपचारिक रूपमा समुद्घाटन गरिएको हो ।
कार्यक्रमको समुद्घाटन वडा नं. १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले गरेका थिए । कार्यक्रममा वडासदस्य शान्ता ढकाल पुडासैनी, वडा कर्मचारी सरिता मल्ल राई, केदारनाथ दाहाल तथा बुढानीलकण्ठ नगरपालिकाका वातावरण तथा सरसफाई शाखा प्रमुख बिनोद पाठकको उपस्थिति रहेको थियो ।
समुद्घाटन सत्रमा सहभागीहरूले आफ्नो अनुभव तथा कार्यक्रमप्रतिको अपेक्षाहरू वडाध्यक्षसमक्ष राखेका थिए । सहभागीहरूको सक्रिय सहभागिताले कार्यक्रमप्रति उत्साह र चासो देखिएको थियो ।
कार्यक्रमका क्रममा वडाध्यक्ष भट्टराईले फोहोरमैला व्यवस्थापनको महत्वबारे जानकारी दिँदै यस क्षेत्रका आगामी योजनाहरूबारे समेत प्रकाश पारेका थिए । उनले समुदायस्तरबाटै फोहोर व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।
उक्त कार्यक्रममार्फत स्थानीय स्तरमा फोहोर व्यवस्थापनबारे व्यवहारिक ज्ञान अभिवृद्धि हुने तथा सरसफाईप्रति जनचेतना फैलाउने अपेक्षा गरिएको छ । कार्यक्रमको बारेमा थप जानकारी वडाध्यक्ष शम्भुप्रसाद भट्टराईले दिएका थिए ।
