भारतको पन्जाबमा घरको छत खस्दा पाँचजनाको मृत्यु

राष्ट्रपाटी न्युज

फाल्गुन १७, २०८१

नयाँदिल्ली । भारतको उत्तरी राज्य पन्जाबमा शनिबार घरको छाना खस्दा एक परिवारका पाँच सदस्य (एक दम्पती र तिनका तीन छोराछोरी)को मृत्यु भएको छ ।

प्रहरीले जनाएअनुसार पन्जाबको सहर अमृतसरबाट २८ किलोमिटर दक्षिणमा रहेको तरनतारन जिल्लाको पाण्डोरी गोला गाउँमा स्थानीय समयअनुसार बिहान ४ः३० बजे एउटा पुरानो घरको छाना खसेको थियो । परिवारका सदस्य सुतिरहेका बेला माथिको छत खसेको थियो ।

“घटनालगत्तै स्थानीयले उद्धार कार्य गरे र उनीहरू सबैलाई भग्नावशेषबाट निकाले । उनीहरूलाई अस्पताल लगिए पनि डाक्टरहरूले उनीहरूलाई मृत घोषणा गरे,” एक प्रहरी अधिकारीले बताए ।

घर जीर्ण अवस्थामा रहेको प्रहरीले जनाएको छ । यसैबीच, प्रहरीले घटनामा मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ । (रासस/सिन्ह्वा)


Published :फाल्गुन १७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media