काठमाडौँ । इजरायली सेनाले गाजा क्षेत्रमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ४ सय १३ जनाको ज्यान गएको छ । प्यालेस्टिनी समूह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ज्यान गुमाउनेमा कम्तीमा ५० बालबालिका र ३० महिला छन् । मन्त्रालयका महानिर्देशक मुनिर अल–बार्सले ६ सय ६० भन्दा बढी घाइते भएको जनाए । घाइतेमध्ये केहीको अवस्था निकै गम्भीर रहेको चिकित्सकको भनाइ छ ।
इजरायल रक्षा बल (आईडीएफ) ले विज्ञप्ति जारी गर्दै हमाससँग सम्बन्धित ‘आतंककारीलाई लक्षित गर्दै’ आक्रमण पुनः सुरु गरेको जनाएको छ । आईडीएफले स्थानीय समयानुसार मंगलबार बिहान २ः०० बजे आक्रमण सुरु गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मध्य गाजाको देर अल–बलाह, गाजा सिटी, खान युनिस, रफाहलगायत स्थानमा हवाई आक्रमण गरिएको छ । यो गाजामा जनवरी १९ मा भएको युद्धविरामपछि सबैभन्दा ठूलो हवाई आक्रमण हो ।
हमासले इजरायलले निहत्था नागरिकमाथि आक्रमण गरेको आरोप लगाएको छ । युद्धविराम उल्लंघन गरेकोमा मध्यस्थकर्ताले इजरायललाई पूर्ण रूपमा जिम्मेवार ठहराउनुपर्ने हमासको भनाइ छ । गाजा युद्धविरामको अवधि विस्तार गर्न भएका वार्ता पनि असफल भएका छन् । हमासले बन्धक रिहा गर्न बारम्बार अस्वीकार गरेको र युद्धविराम विस्तार गर्ने प्रस्ताव अस्वीकार गरेकाले आक्रमण सुरु गरेको इजरायलको भनाइ छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले आईडीएफले अबदेखि हमासविरुद्ध बढ्दो सैन्य शक्तिका साथ कारबाही गर्ने बताएको छ ।
यसअघि इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा ‘प्रधानमन्त्री नेतान्याहु र रक्षामन्त्री इजरायल कात्जले मंगलबार बिहान हवाई आक्रमणका लागि आदेश दिएको’ उल्लेख छ । ‘हमासले हाम्रा बन्धक मुक्त गर्न निरन्तर अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेषदूत स्टिभ विटकफ र मध्यस्थकर्ताले राखेको प्रस्तावको अस्वीकृतिपछिको प्रतिक्रिया हो,’ विज्ञप्तिमा भनिएको छ, ‘अबदेखि इजरायलले हमासविरुद्ध बढ्दो सैन्य शक्तिको प्रयोग गर्नेछ ।’ आक्रमणको योजना ‘आईडीएफले सप्ताहान्तमा प्रस्तुत गरेको र राजनीतिक नेतृत्वले स्वीकृत गरेको’ भनिएको छ ।
पहिलो चरणको अस्थायी युद्धविरामको अवधि १ मार्चमा समाप्त भएपछि, वार्ताकारले अर्को कदमको खोजी गर्दै थिए । अमेरिकाले युद्धविरामको पहिलो चरणलाई मध्य–अप्रिलसम्म विस्तार गर्ने प्रस्ताव गरेको थियो, जसमा हमासद्वारा बन्धकको मुक्ति र इजरायलद्वारा प्यालेस्टिनी बन्दीको थप रिहाइ समावेश थियो । तर, वार्तामा संलग्न एक प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार इजरायल र हमासबीच उक्त सम्झौतामा केही महत्त्वपूर्ण बुँदामा असहमति छ ।
हमासले आक्रमणको निन्दा गर्दै इजरायलले युद्धविराम उल्लंघन गरेको र बाँकी बन्धकको भाग्यलाई जोखिममा पारेको आरोप लगाएको छ । हमासले एक विज्ञप्तिमा ‘गाजामा भएको विश्वासघाती आक्रमणको परिणाम र क्रूर युद्धका कारण घेराबन्दीमा परेका र भोकमरीको सिकार भएका प्यालेस्टिनी जनताका अवस्थाका लागि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार पूर्ण रूपमा जिम्मेवार ठहराएको’ जनाएको छ । अमेरिका र इजरायलको समन्वयले गाजामा पुनः तनावग्रस्त अवस्था उत्पन्न भएको हमासको भनाइ छ । ‘पुनः आक्रमण सुरु गर्नुअघि इजरायली समन्वयले अमेरिकाको युद्धमा संलग्नता पुष्टि गर्छ,’ हमास प्रवक्ता अब्दुल लतिफ अल–कानोउले भनेका छन् । गाजा कब्जाका लागि भएको रक्तपात रोक्न अन्तर्राष्ट्रिय समुदायले तत्काल कारबाही गर्नुपर्ने उनको भनाइ छ ।
यसअघि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव कारोलिन लेभिटले इजरायलले गाजामा आक्रमण गर्नुअघि ट्रम्प प्रशासनलाई सूचित गरेको बताएकी छन् । ‘ट्रम्प प्रशासन र ह्वाइट हाउससँग इजरायलीले गाजामा गरेको आक्रमणबारे परामर्श गरेका थिए,’ उनले भनेकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई मात्र नभई अमेरिकालाई पनि आतंकित गर्न खोज्ने सबैले मूल्य चुकाउनुपर्ने स्पष्ट पारिसकेको उनको भनाइ छ । हमास प्रवक्ताले आफ्नो समूहले युद्धविरामका सबै सर्त पालना गरेको बताएका छन् । ‘हमास युद्धविरामलाई सुदृढ पार्न र दोस्रो चरणमा लैजान उत्सुक थियो । तर इजरायली आक्रमणले त्यसलाई अस्वीकार गरेको छ,’ उनले भनेका छन् ।
गाजापट्टीको रफाहस्थित बालबालिकाका लागि संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफले ‘गाजा क्षेत्र कतै पनि सुरक्षित नभएको’ जनाएको छ । इजरायलको पछिल्लो बमबारीले १५ महिनाअघि युद्ध सुरु भएयता बालबालिकालगायत विस्थापितले शरण लिएका पाल र भवनमा क्षति पुर्याएको युनिसेफले जनाएको छ । ‘अल–मावासी रफाह क्षेत्रमा रहेका हामी सबैका लागि समय साँच्चै कठिन भएको छ । यो त्यही क्षेत्र हो जहाँ युद्धको समयमा परिवारहरू भागेका थिए,’ दक्षिणी गाजाको रफाहमा रहेकी युनिसेफका प्रवक्ता रोसालिया बोलेनले भनिन् । उनले बालबालिकालगायतको जीवन बचाउनका लागि युद्धविराम पुनःस्थापित गर्न एकदमै महत्त्वपूर्ण भएको बताएकी छन् । ‘विस्थापितले शरण लिएका पाल तथा अन्य संरचनामा बमहरू प्रहार भइरहेका छन् । दर्जनौं बालबालिका मारिएका छन् । धेरै घाइते भएका छन् । यो निकै हृदयविदारक छ,’ उनले भनिन् ।
इजरायली बन्धकका परिवारको प्रतिनिधित्व गर्ने समूहले लडाइँ पुनः सुरु गर्ने नेतान्याहुको निर्णय ‘पूर्ण छल’ भएको भन्दै निन्दा गरेको छ । इजरायली कदमले बाँकी बन्धकलाई खतरामा पार्ने भएकाले त्यसविरुद्ध नयाँ विरोध प्रदर्शन आयोजना गर्ने जनाएको छ । ‘परिवारको सबैभन्दा ठूलो डर सत्य भएको छ । हमासको कैदबाट हाम्रा प्रियजनलाई फिर्ता गर्ने प्रक्रियामा जानाजानी अवरोध भएकोमा हामी स्तब्ध, क्रोधित र चिन्तित छौं,’ बन्धक तथा बेपत्ता परिवार फोरमले विज्ञप्तिमा भनेको छ । ‘बाँकी बन्धक फिर्ता नआउन्जेल लडाइँमा फर्कनु भनेको गाजामा रहेका र बचाउन वा फिर्ता गर्न सकिने ५९ ज्यानको बेवास्ता गर्नु हो,’ विज्ञप्तिमा भनिएको छ । बन्धकका परिवारले जेरुसेलममा विरोध गर्ने जनाउँदै इजरायली जनतालाई साथ दिन आह्वान गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रमुख भोल्कर टर्कले ‘गाजामा मंगलबार भएको इजरायली हवाई आक्रमण र गोलाबारीले त्रसित भएको’ बताएका छन् । त्यस्तै, राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेस गाजामा इजरायली हवाई आक्रमणबाट स्तब्ध भएको जनाएका छन् । महासचिव गुटेरेसले ‘युद्धविरामको सम्मान गर्न, निर्बाध मानवीय सहयोग पुनःस्थापित गर्न र बाँकी बन्धकलाई बिनासर्त रिहा गर्न जोडदार अपिल गरेको’ गुटेरेसका उपप्रवक्ता फरहान हकले जनाएका छन् ।
अमेरिका र कतारसँग मिलेर युद्धविरामको वार्तामा सहयोग गरेको इजिप्टले इजरायलको आक्रमणको निन्दा गरेको छ । ‘इजरायली आक्रमणले युद्धविराम सम्झौताको स्पष्ट उल्लंघन र सो क्षेत्रको स्थिरतामा गम्भीर परिणाम ल्याउने खतरा भएको छ,’ इजिप्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ । इजिप्टले मध्यपूर्व क्षेत्रमा पुनः तनाव चर्काउने तथा शान्ति र स्थिरता पुनःस्थापित गर्ने प्रयासलाई विफल पार्ने उद्देश्यले गरिएका सबै इजरायली आक्रमण पूर्ण रूपमा अस्वीकार गर्ने दोहोर्याएको छ । ‘गाजापट्टीमा इजरायली आक्रमण रोक्न र यस क्षेत्रलाई हिंसा र प्रतिहिंसाको नयाँ चक्रमा पुनः प्रवेश गर्नबाट रोक्न अन्तर्राष्ट्रिय समुदायलाई तुरुन्तै हस्तक्षेप गर्न आह्वान गर्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।
चीनले गाजामा व्यापक र घातक इजरायली हवाई आक्रमण पुनः सुरु भएकोमा चिन्ता व्यक्त गर्दै दुवै पक्षलाई युद्धविराममा फर्कन आह्वान गरेको छ । ‘चीन इजरायल–प्यालेस्टाइनको वर्तमान अवस्थाप्रति निकै छ,’ विदेश मन्त्रालयका प्रवक्ता माओ निङ्गले नियमित प्रेस ब्रिफिङमा भनेकी छन् ।
‘सबै पक्षले युद्धविराम सम्झौताको निरन्तर र प्रभावकारी कार्यान्वयनलाई गहन रूपमा प्रवर्द्धन गर्ने र परिस्थिति थप बिग्रन सक्ने कुनै पनि कार्य नगर्ने र ठूलो मात्रामा मानवीय विपत्ति रोक्नेमा चीन आशावादी छ,’ उनले भनेकी छन् ।
त्यस्तै, नर्वेजियन शरणार्थी परिषद् (एनआरसी) ले इजरायली आक्रमणले प्यालेस्टिनी क्षेत्रमा पहिले नै भयावह मानवीय अवस्था थप बिग्रने चेतावनी दिएको छ । एनआरसीकी सञ्चार सल्लाहकार शैना लोले गाजास्थित आफ्ना सहकर्मीहरू मंगलबार बिहान इजरायली बमबारीबाट ब्युँझिएको बताइन् । ‘हाम्रा कर्मचारीसहितका मानिस अवश्य पनि स्तब्ध छन् । तिनीहरू के हुने हो भनेर धेरै चिन्तित छन्,’ लोले जोर्डनको राजधानी अम्मानबाट अमेरिकी सञ्चारमाध्यम सीएनएनलाई भनेकी छन् । लोका अनुसार दुई महिनाअघि इजरायल र हमासबीचको युद्धविराम लागू भएदेखि एनआरसीका करिब आधा प्यालेस्टिनी कर्मचारीहरू आफ्ना परिवारजनलाई भेट्न र आफ्नो घर हेर्न उत्तरी गाजामा फर्किएका थिए ।
‘इजरायलले दुई साताभन्दा लामो समयदेखि खाद्यान्न र अन्य मानवीय सहायतामा लगाएको नाकाबन्दीले गाजापट्टीमा पीडा बढाएको छ,’ लोले भनिन्, ‘नयाँ इजरायली बमबारीले बासिन्दाहरूको महत्त्वपूर्ण इन्धन र पानीको पहुँचलाई थप प्रतिबन्धित गर्ने खतरा छ ।’ इजरायली आक्रमणसँगै आगामी दिनमा गाजावासीले दूरसञ्चार गुमाउने, अस्पतालहरू भत्किने, सफा पिउने पानीको अभाव हुने र खाद्यान्न वितरण रोकिने उनको भनाइ छ ।
हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेसँगै दुई पक्षबीच युद्ध चर्केको हो । हमासको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । त्यसयता युद्धमा गाजाका २३ लाख मानिसहरूमध्ये अधिकांश विस्थापित भएका छन् । ६० प्रतिशतभन्दा बढी संरचना ध्वस्त भएका छन् ।
गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यताको युद्धमा करिब ४९ हजार प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । तीमध्ये आधाभन्दा बढी महिला र बालबालिका छन् । इजरायली आक्रमणमा १ लाख १० हजार घाइते भएका छन् । इजरायलतर्फ करिब १४ सय जनाको ज्यान गएको छ ।
१५ महिना लामो युद्धपछि हमास र इजरायलबीच भएको युद्धविराम सम्झौता १९ जनवरीदेखि कार्यान्वयनमा आएको थियो । युद्धविराम सम्झौताको ६ साता लामो पहिलो चरणमा ३३ इजरायली र ५ थाई बन्दीहरू मुक्त भएका छन् । त्यसबापत इजरायलले १९ सय प्यालेस्टिनीलाई रिहा गरेको छ । हमासको नियन्त्रणमा अझै ५९ जना बन्धक छन् । तीमध्ये एक नेपालीसहित २४ जना जीवित रहेका इजरायली प्रधानमन्त्री कार्यालयले जनाएको छ । (रासस)