काठमाडौंमा आज राप्रपाको प्रदर्शन, सुरक्षा व्यवस्था कडा

राष्ट्रपाटी न्युज

२५ चैत्र २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.) ले आज काठमाडौंको बल्खुमा प्रदर्शन गर्दैछ । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनस्र्थापनाका लागि दबाब दिने उद्देश्यले राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा जुलुससहित प्रदर्शन गर्न लागेको हो ।

उपत्यका बाहिरका जिल्लाहरूबाट समेत ठूलो संख्यामा मान्छे सभामा उपस्थित हुने दाबी राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको छ । आज साढे ११ बजेबाट उपत्यकाका विभिन्न ठाउँहरुबाट जुलुस निस्कने तयारी छ । आजको प्रदर्शन शान्तिपूर्ण हुने र त्यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत ठूलो संख्यामा स्वयंसेवक परिचालन गर्ने जनाएको छ ।

जगमान गुरुङ नेतृत्वको राजतन्त्र पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति, शिव सेना नेपाललगायतले समेत आजको प्रदर्शनलाई समर्थन गरेका छन् । सभामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् ।

जिल्ला सुरक्षा समितिको सुरक्षा विश्लेषणपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले माग गरेको भृकुटीमण्डपमा नभई बल्खु क्षेत्रमा प्रदर्शन तथा सभाका लागि ठाउँ दिइएको छ । बल्खुको सभाका लागि भने २ हजार प्रहरी परिचालन गरिने बताइएको छ । यसका साथै सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट प्रदर्शनको निगरानी गरिने प्रहरीले जनाएको छ ।

उच्छृङ्रुखल गतिविधि गर्नेहरूलाई विशेष निगरानी राख्दै कारबाहीको प्रक्रिया समेत अघि बढाइने दाबी प्रहरीले गरेको छ । १५ चैतमा राजावादीको तर्फबाट दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो । जसमा कीर्तिपुरका सविन महर्जन र एभिन्यूजकर्मी सुरेश रजगको मृत्यु भएको थियो । सोही कारण प्रहरीले सुरक्षा सतकर्ता बढाएको हो ।


Published :२५ चैत्र २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media