पाकिस्तानको बलुचिस्तानमा विस्फोट, तीनजना प्रहरीको मृत्यु, १६ घाइते

राष्ट्रपाटी न्युज

बैशाख २, २०८२

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको बम विस्फोटमा तीन जना प्रहरीको ज्यान गएको छ भने १६ जना घाइते भएका छन्।

सरकारी प्रवक्ता शाहिद रिन्दका अनुसार घटना मस्तुङ जिल्लाको कुन्द मसुरी क्षेत्रमा भएको हो, जहाँ तालिम केन्द्रबाट फर्किरहेकै क्रममा प्रहरीहरू चढेको गाडीलाई लक्षित गरी विस्फोट गराइएको थियो।

दुई जना घाइतेको अवस्था गम्भीर छ। सबै घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। प्रहरी टोली बलुचिस्तान नेशनल पार्टी–मेङ्गल (बीएनपी–एम) द्वारा आयोजना गरिएको धर्नाको सुरक्षामा खटिएको थियो।

घटनापछि बोलन मेडिकल कलेज अस्पताल र क्वेटा सिभिल अस्पतालमा आपतकालीन व्यवस्था मिलाइएको छ। सरकारले घटनाको छानबिन सुरु गरेको र विस्तृत प्रतिवेदन मागिएको छ।

बलुचिस्तान प्रान्तका मुख्यमन्त्री सरफराज बुग्टीले घटनाको कडा निन्दा गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिए। उनले प्रान्तीय स्वास्थ्य मन्त्रीलाई उपचार कार्यको प्रत्यक्ष निगरानी गर्न भने।

मुख्यमन्त्री बुग्टीले स्पष्ट रूपमा भने, ‘घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको लापरवाही स्वीकार्य हुने छैन। घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीबाट जोगिन दिइने छैन।’

हालसम्म यो आक्रमणको जिम्मेवारी कसैले लिएको छैन। बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर जनसंख्याको हिसाबले सानो प्रान्त हो, जहाँ विगतका वर्षहरूमा सुरक्षाकर्मीलाई लक्षित गरी हिंसात्मक गतिविधि भइरहेका छन्। यस्ता घटनाहरूलाई पृथकतावादी समूहसँग जोडिने गरिन्छ। (रासस/सिन्ह्वा)


Published :बैशाख २, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media