काठमाडौं । संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर मुद्दाको सुनुवाइ बुधबार पनि टुंगो लाग्न सकेन ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीश सपना मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ भए पनि बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा परेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलका अनुसार अब मुद्दा आगामी आइतबार, बैशाख ७ गतेका लागि पेशी तोकिएको छ ।
२०७७ मङ्सिर ३० गतेदेखि सुरु नियुक्तिका क्रममा तत्कालीन प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न आयोगहरूमा ५२ जनालाई सिफारिस गरेका थिए ।
यस मुद्दामा बुधवार वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, अधिवक्ता कीर्तिनाथ शर्मा र हर्कबहादुर रावललगायतले बहस गरेका थिए। नियमित सुनुवाइको यो चौथो दिन हो ।