काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका जनकमाण्डर दुर्गा प्रसाईंले भारतीय प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनपछि फरार रहेका प्रसाईंले भारतको असाम प्रहरी समक्ष बिहीबार आत्मसमर्पण गरेका हुन् । प्रसाईंले आफ्नो सुरक्षाका लागि आफै भारतको असाम राज्यको प्रहरी समक्ष आत्मसमर्पण गरेको उनको सचिवालयले जनाएको छ । उनलाई भारतीय प्रहरीले नेपाली प्रहरीको जिम्मा लगाउन काँकडभिट्टा ल्याउँदैछ ।
त्यस्तै, प्रसाईंलाई भारतको आसाम राज्य अन्तर्गत गुवाहाटीबाट त्यहाँको स्थानीय प्रहरीले नेपालको सीमासम्म सुरक्षित ल्याइपुर्याएको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले बताएको छ । भारतको आसाम प्रहरीसमक्ष सुरक्षा माग गर्दै प्रसाई पुगेको र सुरक्षित रुपमा नेपालको सीमासम्म ल्याइपर्याएको समितिले जनाएको छ । यसका लागि आसाम प्रहरीलाई समितिले धन्यवाद पनि दिएको छ ।
समितिका तर्फबाट प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गरी प्रसाईँको पक्राउ वा आत्मसमर्पण नभई स्थानीय प्रहरीसमक्ष ज्यानको सुरक्षाका लागि गएको दाबी गरेका हुन् । चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक बन्द दु्ई जनाको ज्यान गएको थियो । त्यसपछि आन्दोलनको जनकमाण्डर समेत रहेका प्रसाईं फरार भएका थिए । प्रसाईंलाई पक्राउ गर्न प्रहरीले टोलीले नै परिचालन गरी खोजी गरिरहेको थियो ।
बुधबार मात्र प्रसाईंले एक भिडिओ सन्देश जारी गर्दै आफ्नो ज्यान सुरक्षित हुने ग्यारेन्टी प्रहरीले गर्ने हो भने आफू मानवअधिकारवादी र आफ्ना निजी वकिल मार्फत् २४ घण्टाभित्र प्रहरीमा उपस्थित हुने बताएका थिए ।