सुनसरी गोली प्रहार प्रकरण : तीनजना पक्राउ, तीन फरार

राष्ट्रपाटी न्युज

बैशाख ३, २०८२

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको गोली प्रहार घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज–१ का रवीनकुमार यादव र पिन्टु यादव छन्। सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार गोली प्रहारका क्रममा शिवकुमार मेहता गम्भीर घाइते भएका छन्। उनको विराटनगरमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ।

प्रहरी उपरीक्षक तिम्सिनाले घटनामा संलग्न अर्को समूहका तीन जना फरार रहेको र उनीहरूको खोजी जारी रहेको बताए। फरार हुनेमा कामेश्वर यादवसहित तीन जना छन्। पक्राउ परेका र फरार तीनै जना सीमा क्षेत्रमा बसेर विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ।

घटनामा कुल ६ जना संलग्न थिए। प्रारम्भिक अनुसन्धानअनुसार सबै आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् र भारतमा खोजीको सूचीमा छन्। पक्राउ परेका रवीन यादव यसअघि गाँजा तस्करीमा संलग्न भई केही दिनअघि पक्राउ परेर छुटेका थिए। गोली लागेर घाइते मेहताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।


Published :बैशाख ३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media