चट्याङ लागेर एकको मृत्यु, तीनजना गम्भीर घाइते

राष्ट्रपाटी न्युज

जेष्ठ १, २०८२

काठमाडौँ । सङ्खुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बुधबार साँझ चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए।

घरमै बसिरहेका अवस्थामा अचानक चट्याङ पर्दा तामाङको मृत्यु भएको हो।

हावाहुरीसँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी तामाङलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको थियो। उपचारकै क्रममा उनको त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख श्रेष्ठले बताए।

त्यस्तैगरी चट्याङ लागेर १५ वर्षीय प्रतीक तामाङ, ४२ वर्षीया कल्पना तामाङ र १९ वर्षीय रिजन तामाङ गम्भीर घाइते भएका छन्।

गम्भीर घाइते तीनै जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

निर्मलाको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। जिल्लामा चट्याङ लागेर एक वर्षको अवधिमा पाँच जनाको मृत्यु भइसकेको छ।


Published :जेष्ठ १, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media