मानव सभ्यतालाई नयाँ युगतर्फ डोर्याउने अठोटका साथ जीवन सार्थक बनाउन सफल व्यक्तित्व हुन् – डि.एन.महतो

विक्रम सम्वत २०२८ साल बैशाख ३ गते महोत्तरी जिल्लाको लक्ष्मिनिया गाउँ विकास समिति वडा नम्बर १ हाल गौशाला नगरपालिका वडा नम्बर १० मा डि.एन.महतोको जन्म भएको हो। उनको जन्म एक साधारण किसान परिवारमा भएको थियो । ४ वर्षको उमेरमा आमा गुमाउनुपर्दा अध्ययनको दौरान सानैदेखि उनको जीवन कष्टकर र संघर्षमय रहयो।

उनले कक्षा १० सम्मको अध्ययन भरतपुर गाउँविकास समितिको श्री जनता माध्यमिक विद्यालयबाट पुरा गरी वि.स. २०४३ सालमा प्रथम श्रेणीमा एस.एल.सी. उत्तिर्ण गरेका थिए । उनी विद्यार्थीकाल देखिनै समाजसेवामा रुचि राख्थे । परिणाम स्वरुप कक्षा ९ मा पढ्नेबेला युवा क्लबको अध्यक्ष भए भने एस.एल.सी. पछि सहकारी संस्थाको अध्यक्ष भएका थिए। ब्याचलर पढ्ने बेला उनी कुशवाहा विद्यार्थी समाजको अध्यक्ष भई कुशलतापुर्वक आफ्नो भूमिका निर्वाह गरेका थिए।

सानैदेखि स्वाभावैले मेहनती उनले प्रविणता प्रमाणपत्र तह र स्नातक तह रा.रा.ब. क्याम्पस जनकपुरमा अध्ययन गरेका थिए , जहाँबाट उनले ‘बि.एस.सी. स्ट्याट विषयलिई स्नातक तह उत्तीर्ण गरेको बताउँछन् ।

यसपश्चात् पनि उनको अझ थप शिक्षा आर्जन गर्ने मनसायले २०५० सालमा काठमाडौं त पसे तर आर्थिक समस्याले गर्दा पढाइ र कमाइ साथसाथै गर्नुपर्ने भयो। त्यहि सिलसिलामा काठमाडौको बाँसबारीमा अवस्थित गुहेश्वरी माध्यमिक विद्यालयमा अध्यापन गर्न सुरु गरेका थिए। करिब १० वर्षसम्म अध्यापन संगै उनले आफ्नो पढाइलाई बिस्तारै निरन्तरता दिदै गए र क्रमशः बि.एड. र स्नातकोत्तर तहको शिक्षा काठमाडौं शिक्षा क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौंबाट पूरा गरे।

उनले आफ्नो स्नातकोत्तर तहको शिक्षा पूरा गरेपश्चात शिक्षण पेशा र सामाजिक सेवातर्फ नै आकर्षित भईरहे र शिक्षणलाई पेशाको रुपमा स्विकार गर्दै काठमाडौको मण्डिखाटार स्थित २०६२ सालमा नेशनल आइडियल बोर्डिङ्ग स्कुलको स्थापना गरी शिक्षा क्षेत्रमा सक्रिय बन्दै गए। उनले काठमाडौँ जिल्लाका धेरै विद्यालयहरूमा शिक्षक र डाइरेक्टरको रूपमा आबद्ध भएर काम गरेका छन् ।

आजको स्तरसम्म पुग्नको निमित्त धेरै संघर्ष र धेरै मेहनत गरेको स्मरण गर्दै उनले मेहनतको क्रममा एक शिक्षक भइसके पश्चात कसरी शिक्षण पेशालाई आफ्नो कर्तव्य र धर्म बनाउन सकिन्छ ? कसरी आफ्नो जिम्मेवारीलाई पूर्ण रूपमा निभाउन सकिन्छ ? कसरी समयअनुरूप अघि बढ्न सकिन्छ आदि इत्यादि कुराहरू आफ्नो व्यवहारमा समेत लागु गरेको बताएका छन् ।

विसं २०५४ सालमा जनकपुरको ग्रीनल्यान्ड एकेडमी स्थापना र २०५७ सालमा भरतपुरको भिलेज पब्लिक स्कुलको स्थापना पश्चात २०६२ सालमा स्थापना गरिएको नेशनल आइडियल विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी लिएका उनले मन्डिखाटार क्षेत्रमा भएका संस्थागत विद्यालयहरूको समग्र शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गरी भावी पुस्ताकालागि समेत अवसरको सिर्जना गर्ने आफ्नो योजना रहेको बताएका छन। आउँदा दिनहरूमा समेत यही शिक्षण क्षेत्रमा नै समर्पित हुने साथै गैर राजनीतिक संस्थाहरु मार्फत समाजको सेवा गर्ने अठोटका साथ उनी भन्छन्

शिक्षा नै जीवन हो, मानवता नै धर्म हो।
शिक्षा र समाजको सेवा नै मेरो कर्म हो ।।

डि.एन.महतो निब्स स्कुल/कलेज, काठमाडौका संस्थापक/प्रधानाध्यापक, एनप्याब्सन, बागमती प्रदेश समितिका अध्यक्ष तथा किस नेपाल, केन्द्रिय समितिका संस्थापक/प्रमुख सल्लाहकार हुन् ।
(डि.एन.महतो संगको कुराकानीमा आधारित )


Published :असार ९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media