काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले रूपन्देही क्षेत्र न.३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ।
मंगलबार काठमाडौंमा बसेको मोर्चाको बैठकले रूपन्देही क्षेत्र न.३ को उपनिर्वाचनमा मोर्चाको संयुक्त उम्मेदवारको रूपमा नाउपा उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो।
बैठकले संविधान संशोधनका लागि मोर्चाले आफ्नो राय एकमत बनाउने र आवश्यक कुराहरू संविधान संशोधनका लागि क्रमशः उठाउँदै जाने निर्णय गरेको तराई-मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता विजय कुमार सिंहले जानकारी दिए।
त्यस्तै राज्य व्यवस्था समितिबाट पारित भएको निजामती विधेयकमाथिको चलखेल लोकतान्त्रिक र संसदीय अभ्यासप्रति गम्भीर अपराध भएको मोर्चाको ठहर रहेकाले त्यस्ता काममा संलग्नलाई संसदीय समितिले छानबिन गरी कारबाही गर्नुपर्ने र संसदको मर्यादा कायम राख्नुपर्नेमा जोड दिइएको सिंहले बताए।
त्यस्तै बैठकले सर्वोच्च अदालतको संवैधानिक इजलासबाट भएको संवैधानिक पदाधिकारीहरूको नियुक्ति सम्बन्धी निर्णयप्रति गम्भीर निराशा व्यक्त गरेको छ। त्यस्तै किसानहरूलाई मलखादको अभाव भएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको सिंहले बताए।