काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
बैठकमा महिला तथा सामाजिक समितिका सभापति किरण कुमार साहले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आ.व. २०८०–०८१)’ पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नबल किशोर साह सुडीले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावका साथै उक्त विधेयक प्रस्तुत गर्ने छन् ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । उक्त विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने छ । मन्त्री अधिकारीले बैठकमा सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव राख्ने छन् ।
सभामुख देवराज घिमिरेले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।