आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती मनाइँदै

राष्ट्रपाटी न्युज

असार २९, २०८२

काठमाडौं । आज राष्ट्रिय विभूति नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती । यस अवसरमा देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी भानुजयन्ती मनाइँदै छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा भानुभक्तको जन्म भएको थियो । आचार्यले एक घाँसीले दिएको अर्ति-उपदेश ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ को प्रेरणास्वरूप साहित्य सिर्जना गर्न थालेका थिए । उनले संस्कृत भाषामा लेखेको रामायणलाई नेपालीमा उल्था गरेका थिए ।  राष्ट्रिय विभूति आदिकवि आचार्यले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको विज्ञहरूको तर्क छ । भानुभक्तका ‘वधुशिक्षा’, ‘प्रश्नोत्तरी’, ‘भक्तमाला’, ‘रामगीता’लगायत कृति लोकप्रिय छन् । भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक, धार्मिक, सामाजिक एवं नैतिक चेतनाको विकास गर्न पु-याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले सामाजिक अगुवाका रूपमा लिने गरेको छ ।

कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए- ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।

यस उपलक्ष्यमा आज (आइतबार) बिहान काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ । यस्तै, अन्य विभिन्न कार्यक्रममार्फत कविता वाचन तथा उनको सम्झना गर्दै उनको जन्मजयन्ती मनाइँदै छ । उनको निधन विसं १९२५ असोजमा भएको थियो ।

भारतका पूर्वोत्तर राज्यहरूमा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीलाई त्यहाँका नेपाली भाषीहरूले विशेष उत्सवका रूपमा मनाउने गर्दछन् । जहाँ जहाँ नेपाली भाषी छन् त्यहाँ भानु जयन्तीलाई विशेष उत्सवका रूपमा मनाउने गरिन्छ । यस्तै, तनहुँको भानु नगरपालिका–४ स्थित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानुजयन्ती सप्ताहव्यापी कार्यक्रमका रूपमा मनाइरहेको छ । त्यसैगरी, उनको जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका साथ तीन दिनसम्म मनाइएको छ । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन् ।

भानुजयन्तीको अवसरमा सम्पूर्ण नेपाली भाषाभाषी समुदायलाई आ-आफ्नो मातृभाषाको संरक्षण र संवद्र्धनमा समर्पित हुन राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेका छन् । आदिकवि भानुभक्तको जन्म जयन्तीमा सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपाली भाषाको समुन्नतिका साथ अन्य मातृभाषाहरूको सम्मान र संरक्षण गरिनुपर्ने कुरामा उनले विशेष जोड दिएका छन् । नेपाली भाषा र संस्कृतिप्रतिको सम्मान, माया र संरक्षणमा सबै नेपाली एकजुट बनून् भन्ने उनको सन्देशमा व्यक्त गरिएको छ । यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अन्य दलका नेताहरूले पनि सन्देश जारी गरेका छन् ।


Published :असार २९, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media