काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।
उपप्रमुख सुनिता डङ्गोलले आइतबार महानगरको १७ औँ नगरसभा अधिवेशनको पहिलो बैठकमा बजेट प्रस्तुत गरिन् । बजेटमार्फत पूर्वाधार निर्माण, सामाजिक विकास, स्वरोजगार सिर्जना, सम्पदा संरक्षण र सफाइ तथा वातावरणीय सुधारलाई प्राथमिकता दिइएको छ ।
उपप्रमुख डङ्गोलले प्रस्तुत गरेको बजेटमा सबैभन्दा बढी १२ अर्ब ८० करोड रुपैयाँ कुल बजेटको ५१ प्रतिशत पूर्वाधार क्षेत्रमा विनियोजन गरिएको छ । सडक, ढल, सार्वजनिक भवन, खानेपानी र यातायात व्यवस्थापन जस्ता विषय बजेटको प्राथमिकतामा परेको छ ।
कुल बजेटको २० प्रतिशत अर्थात् ५ अर्ब २ करोड रुपैयाँ सामाजिक क्षेत्रमा विनियोजन गरिएको छ । सामाजिक क्षेत्र अन्तर्गत विद्यालय सुधार, स्वास्थ्य सेवा विस्तार, महिला र युवा लक्षित स्वरोजगार कार्यक्रम तथा ‘एक वडा, एक उद्यम’ जस्ता कार्यक्रम छन् ।
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत अर्थात् ३ अर्ब १ करोड ३७ लाख २१ हजार रुपैयाँ विनियोजन भएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १४ प्रतिशत अर्थात ३ अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।
आर्थिक विकासमा कुल बजेटको ३ प्रतिशत अर्थात ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ विनियोजित छ । राजस्व सङ्कलन प्रभावकारी बनाउन व्यवसाय करमा नयाँ करदाता पहिचान गरिने, व्यवसाय स्थलमै पुगेर समन्वय गरिने र पौष मसान्तभित्र कर तिर्ने करदातालाई १० प्रतिशत छुट दिइने व्यवस्था बजेटमा प्रस्ताव गरिएको छ ।
बहाल कर सङ्कलन एकद्वार प्रणालीबाट गर्न सङ्घीय सरकारसँग सहकार्य गरिने बजेटमा उल्लेख छ । प्रस्तावित बजेट अनुसार आन्तरिक स्रोत तथा बैङ्क मौज्दातबाट २० अर्ब १२ करोड रुपैयाँ, सङ्घ र प्रदेश सरकारबाट अनुदान स्वरूप ४ अर्ब ९८ करोड रुपैयाँ र अन्य ६५ करोड रुपैयाँ बाह्य व्ययभार रहने अनुमान गरिएको छ ।