शिक्षा विधेयक शिक्षक र विद्यार्थीप्रति उत्तरदायी रहेको सभापति थापाको दाबी

राष्ट्रपाटी न्युज

साउन २४, २०८२

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा विधेयक शिक्षक र विद्यार्थीप्रति उत्तरदायी रहेको बताएका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले शिक्षा विधेयक जागिरेमुखी नभएर उत्पादनमुखी शिक्षा हुनुपर्छ भनेर विधेयकलाई अघि बढाइएको बताएका हुन् ।

उनले शिक्षक महासंघका पदाधिकारीहरूले आफूहरूसँग एउटा सहमति गरेर बाहिर अर्को बोल्ने गरेको बताए । सभापति थापाले आफूले महासंघका अध्यक्ष, महासचिवलगायतसँग पटक–पटक छलफल गरेको र प्रायः जसो सबै विषय सहमतिमै टुङ्ग्याइएको जानकारी दिए ।

महासंघले अहिले अस्थायी शिक्षक सबैलाई स्थायी गराउन भनिरहेको तर सरकारले त्यसलाई स्वीकार नगरेको उनले बताए ।

समितिका सभापति थापाले अब अस्थायी शिक्षकलाई प्रतिस्पर्धा गर्नका लागि उमेरहद नलाग्ने र उनीहरूले आयोग पास गर्न सकेनन् भने गोल्डेन ह्याण्डसेकमार्फत बिदाइ गरिने व्यवस्था ऐनमा समावेश गरिएको जानकारी दिए ।


Published :साउन २४, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media