मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान

राष्ट्रपाटी न्युज

साउन २६, २०८२

धनुषाधाम । खडेरीको प्रभावमा परेका मधेस प्रदेशका आठ जिल्लामा हालसम्म करिब ७७ प्रतिशत मात्र धान रोपाइँ भएको छ। कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार सबैभन्दा बढी रोपाइँ बारामा ९५ प्रतिशत भएको छ। सबैभन्दा कम महोत्तरीमा ६१.५ प्रतिशत रोपाइँ भएको छ ।

प्रदेशको कुल पाँच लाख ४२ हजार ५८१ हेक्टर खेतीयोग्य क्षेत्रमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टरमा धान रोपाइँ हुने गरेकामा हालसम्म दुई लाख ८५ हजार ३३५ हेक्टरमा रोपाइँ भएको हो ।

पर्याप्त वर्षा नभए पनि बोरिङको माध्यमबाट रोपाइँ गरिएको हो। बारा र पर्सामा गण्डक नहर, सप्तरीमा कोशी, सर्लाही र रौतहटमा बागमतीबाट किसानले सिँचाइ गरेर धान रोप्दा केही सहजभएको छ । तर, धनुषामा कमला नदी सुक्दा समस्या भएको हो।

यो वर्ष प्रदेशमा अधिकतम ८० प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरिएको छ । ढिलो रोपाइँका कारण कुल धान उत्पादनमा करिब २७ प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको निर्देशक यादवले बताए।

सुक्खा र खडेरी प्रभावित क्षेत्रका लागि भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रम अन्तर्गत प्रदेश सरकारले किसानलाई तत्काल राहत दिने घोषणा गरेपछि प्रदेशभरका २२ हजार ५२ किसानले आवेदन दिएका छन्।

सिँचाइ व्यवस्थापन सहयोगका लागि मधेश प्रदेश सरकार सङ्घीय सरकारको निर्णयको पर्खाइमा रहेको मुख्यमन्त्री सतिशकुमार सिंहले बताए । प्रदेश सरकारले किसानलाई सहयोगका लागि १८ करोड बजेट विनियोजन गरे पनि यो पर्याप्त नभएको उनको भनाइ छ।


Published :साउन २६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media