पुटिनसँगको वार्तामा युक्रेनी भूभागहरूको सम्झौता हुँदैनः ट्रम्प

राष्ट्रपाटी न्युज

साउन २९, २०८२

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्तामा युक्रेनी भूभागहरूको सम्झौता नहुने बताएका छन्।

बहुप्रतिक्षित अलास्का बैठकअघि युक्रेनमा युद्धविरामबारे रणनीति बनाउन युरोपेली नेताहरूसँगको भर्चुअल बैठकमा ट्रम्पले युक्रेनको कुनै पनि भूभागको विषयमा पुटिनसँग सम्झौता नहुने बताएका हुन्।

उनले युक्रेनी भूभागबारे वार्ता गर्नु आफ्नो अधिकारक्षेत्रमा नपर्ने बताएको भनेर भर्चुअल बैठकबारे जानकार दुई कुटनीतिज्ञलाई उद्धृत गर्दै अमेरिकी मिडिया सिएनएनले लेखेको छ।

यसबाट ट्रम्पले युद्धविरामको साटोमा युक्रेनी भूभागको नियन्त्रण पाउने कुनै पनि रूसी प्रस्तावलाई स्वीकार गर्ने छैनन् भन्नेमा युरोपेली नेताहरूमा आशा पलाएको सिएनएनले लेखेको छ।

यसअघि ट्रम्पले युद्धविराम गर्दा रूस र युक्रेनबीच जमिनको अदालबदली हुनसक्ने भनेका थिए। रूसले हालको नियन्त्रणरेखालाई आधार बनाएर युद्धविराम हुनुपर्ने भनेर अगाडिदेखि नै सर्त राखेको छ।

ट्रम्पले जमिनको अदलाबदली हुँदै दुवै देशले केही पाउने र केही गुमाउनुपर्ने बताएका थिए। तुलनात्मक रूपमा रूसले अलि बढी गुमाउनुपर्ने हुनसक्छ भनेर ट्रम्पले यसअघि बताउँदै आएका थिए।

बुधबार युरोपेली नेताहरूसँगको छलफलमा भने युक्रेनी भूभागबारेको निर्णय युक्रेन आफैले गर्ने भनेको फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सिएनएनलाई बताएका छन्।

‘राष्ट्रपति ट्रम्पले भूभागसम्बन्धी विषयमा युक्रेनी राष्ट्रपतिबाहेक अरू कसैले पनि वार्ता गर्न सक्दैन भन्ने कुरा अत्यन्त स्पष्ट रूपमा भन्नुभएको छ,’ म्याक्रोंले पत्रकारहरूसँग भने ।

म्याक्रोंका अनुसार ट्रम्पका दुइटा सन्देश थिए।

पहिलो अलास्कामा हुने वार्ताबाट युद्धविराम सफल गराउने। र दोस्रो भूभागबारे।

दुवै विषयमा ट्रम्पले प्रष्ट रहेको  म्याक्रोंले बताएका छन्।

ट्रम्पसँगको युद्धविराम वार्ता सफल भए जेलेन्स्कीसहितको दोस्रो वार्ता पनि चाँडै सुरू गरिहाल्ने ट्रम्पले बताए।

भूभाग र अन्य विषयहरूको सम्झौता जेलेन्स्कीकै उपस्थितिमा र सहमतिमा गर्ने ट्रम्पले बताएका छन्।

भर्चुअल  बैठकमा ट्रम्पले युक्रेनका लागि अमेरिकी भूमिकासहितको सुरक्षा ग्यारेन्टीको समर्थन व्यक्त गरेका सिएनएनले जनाएको छ। यसलाई युरोपेली कूटनीतिज्ञहरूले सकारात्मक विकासका रूपमा लिएका छन्।

बैठक असफल भए रूसले गम्भीर परिणाम भोग्नुपर्छ भनेर ट्रम्पले चेतावनी पनि दिएका छन्।

त्यस्तै वार्ता असफल भए रूससँग तेल खरिद गर्ने मुलुकहरूलाई पनि प्रतिबन्धहरू थपिने उनले बताएका छन्। (एजेन्सी)


Published :साउन २९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media