विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययन गर्न समिति सदस्यलाई थप दुई दिनको समय

काठमाडौँ । विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन अध्ययन गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्यहरूलाई थप दुई दिनको समय दिइएको छ ।

समितिको सोमबार बसेको बैठकमा उपसमितिले तयार पारेको प्रतिवेदन वितरण गर्दै सदस्यहरूलाई अध्ययनका लागि दुई दिनको समय दिइएको हो । प्रतिवेदनमाथि छलफलपछि समितिले आगामी ५ भदौमा फेरि बैठक बोलाउने निर्णय गरेको छ, जसमा प्रतिवेदन पारित गर्ने प्रक्रिया अघि बढाइनेछ ।

विधेयकमा यसअघि १६३ दफा थिए भने अहिले त्यो संख्या १७४ दफामा पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरिब तथा विपन्न विद्यार्थीहरूलाई २.५ प्रतिशत आवास सुविधा उपलब्ध गराउने प्रस्ताव राखेको छ ।

तर, सांसदहरूले अनिवार्य शिक्षा ऐनअनुसार कम्तीमा १० प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्नुपर्ने माग राखेपछि उक्त विषयमा सहमति जुट्न नसकेको समितिका एक सदस्यले जानकारी दिए ।

यद्यपि विद्यालय शिक्षा विधेयकलाई टुंगोमा पुर्‍याउन समितिले सक्रिय छलफल र तयारी गरिरहेको छ । प्रतिवेदन अध्ययनपछि हुने बैठकमा विधेयकलाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ ।


Published :भदौ २, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media