बागमती प्रदेशका सभामुख पाठकद्वारा राजीनामा

हेटौंडा । बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आज (बुधबार) उपसभामुख अप्सरा चापागाईंलाई औपचारिक राजीनामा पत्र बुझाएका हुन् ।

यसअघि गत २४ भदौमा सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका पाठकले कानुनी प्रक्रिया पुरा गर्न उपयुक्त समय नजुटेकाले ढिलो गरी औपचारिक पत्र बुझाएको उल्लेख गरेका छन् ।

राजीनामा पत्रमा उनले लेखेका छन्, “नेपालको संविधान र प्रदेशसभा नियमावली, २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा दिएको छु ।” उनले राष्ट्र संकटमा रहेको र जनताको भावना तथा युवा पुस्ताको अपेक्षाविपरीत पदमा बसिरहनु उचित नलागेको बताएका छन् ।

२४ भदौमा राप्रपाका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूले सामूहिक राजीनामा दिने घोषणा गरेपछि पाठकले पनि फेसबुकमार्फत सभामुख पदबाट राजीनामा दिएको जनाएका थिए। उनी राप्रपाबाट निर्वाचित भई बागमती प्रदेशको सभामुख बनेका थिए ।

उक्त समयमा पाठक काठमाडौंमा थिए, जहाँ जेनजी आन्दोलन चर्किंदै थियो । आन्दोलनका क्रममा प्रदेशसभाको नयाँ र पुरानो भवनमा तोडफोड तथा आगजनी हुँदा विद्युतीय उपकरणसहित संरचनाहरू जलेर नष्ट भएका थिए ।


Published :अशोज १, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media