सहमति कार्यान्वयन नभएसम्म फोहोर फाल्न नदिने बञ्चरेडाँडाका स्थानीयको अडान

राष्ट्रपाटी न्युज

कार्तिक १४, २०८२

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रका स्थानीयले यसअघि भएको सहमति कार्यान्वयन नभएसम्म फोहोर फाल्न नदिने बताएका छन्।

शुक्रबार सहरी विकास मन्त्रालयमा भएको छलफलका क्रममा उनीहरूले आफूहरूसँग पटक–पटक सहमति गरेपनि कार्यान्वयन नभएको भन्दै फोहोर फाल्न नदिने जनाएका छन्। उनीहरूले सहमति कार्यान्वयनका लागि काठमाडौं महानगरका प्रमुख, उपप्रमुख, सहरी विकास मन्त्रीका साथै अर्थ मन्त्रालयको प्रतिनिधिसँग वार्ता गर्ने जनाएका छन्। स्थानीयको अडानका कारण छलफल बिना निष्कर्ष सकिएको छ।

छलफलमा सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले छलफलबाट समस्याको समाधान गर्ने भन्दै फोहोरका गाडीलाई अवरोध नगर्न आग्रह गरेका थिए।

२०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै सो क्षेत्रका स्थानीयले उपत्यकाबाट फोहोर बोकेर गएका गाडीहरू रोकेका छन्।

सहमतिमा उल्लेख भएको फोहोर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहोर बोकेका गाडीले लिच्चड नचुहाउने उल्लेख थियो।


Published :कार्तिक १४, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media