मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेशमा आन्दोलन तीव्र, प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री कार्यकक्षमा तोडफोड

राष्ट्रपाटी न्युज

कार्तिक २४, २०८२

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको विषयले राजनीतिक तनाव र असन्तुष्टि चुलिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र मुख्यमन्त्री सरोजकुमार यादवको कदमप्रति विपक्षी दलहरू आक्रोशित छन् भने प्रदेश राजधानीमा स्थिति तनावपूर्ण बनेको छ ।

प्रदेश प्रमुख र मुख्यमन्त्री दुवैको कार्यालयमा तोडफोड भएको छ भने असन्तुष्ट दलका कार्यकर्ताले मधेश भवन अगाडि टायर बाल्दै आक्रोश व्यक्त गरेका छन्।

संविधानको धारा १६८(२) अनुसार नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि कात्तिक २२ गते प्रदेशसभा बैठकमा राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार एमाले प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

अस्वस्थताको कारण देखाउँदै बिहानै काठमाडौं प्रस्थान गरेको भनिएकी प्रदेश प्रमुख भण्डारीले महोत्तरीको बर्दिबास–३ स्थित पानस होटलमा पुगेर यादवलाई शपथ खुवाएकी थिइन्। यही घटनालाई असंवैधानिक भन्दै विपक्षी दलहरू विरोधमा उत्रिएका छन्।

मुख्यमन्त्री यादव मधेश भवन आउने जानकारी पाएपछि विरोधमा रहेका दलका कार्यकर्ताले उनलाई रोक्ने प्रयासमा सडकमा टायर बाल्दै प्रदर्शन गरेका छन्। एमालेभित्र पनि पार्टीस्तरमा छलफलबिना मुख्यमन्त्री नियुक्ति भएको भन्दै असन्तुष्टि देखिएको छ।

प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

मुख्यमन्त्री नियुक्तिको विरोधमा प्रदर्शनमा उत्रिएका कांग्रेस, जसपा, लोसपा लगायतका दलका कार्यकर्ताले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यालयमा समेत तोडफोड गरेका छन्। उनीहरूले कार्यालय अगाडिको बोर्ड र गमलासमेत फुटाएका छन् र प्रदेश प्रमुखको राजीनामाको माग गर्दै नाराबाजी गरिरहेका छन्।

मुख्यमन्त्री कार्यकक्षमा पनि तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

नव नियुक्त मुख्यमन्त्रीको विरोधमा कांग्रेससहितका केही सांसदहरूले मुख्यमन्त्री कार्यकक्षमा प्रवेश गरी तोडफोड गरेका छन्। तोडफोडका क्रममा कांग्रेसका प्रदेश सांसद वीरेन्द्रकुमार सिंहले कार्यकक्षमा रहेको नेपालको राष्ट्रिय झण्डा फ्याँकेका थिए भने अर्का सांसदले कुर्सी फालेका थिए। घटनामा कार्यकक्षमा सामान्य क्षति पुगेको बताइएको छ।


Published :कार्तिक २४, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media