
काठमाडौं । नवनियुक्त मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतल निवासमा कर्णलाई शपथ गराएका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संविधानको धारा १६३(२) बमोजिम कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार, शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरेलगायत उच्च पदस्थ अधिकारीहरू उपस्थित थिए।
यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो।
भण्डारीले संविधानको उल्लंघन गर्दै सर्लाहीको बर्दिबासस्थित होटलमा नेकपा (एमाले) का सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी त्यहीँ शपथ ग्रहण गराएकी थिइन्। उनको उक्त कदमपछि मधेश प्रदेश राजधानी जनकपुरधाममा दिनभर तनावपूर्ण स्थिति सिर्जना भएको थियो, जहाँ असन्तुष्ट दलका कार्यकर्ताहरूले मुख्यमन्त्री कार्यालयमा तोडफोडसमेत गरेका थिए।