एनपीएलमा काठमान्डुको विजयी सुरुवात, जनकपुर ५ विकेटले पराजित

राष्ट्रपाटी न्युज

मंसिर १, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो खेलमा काठमान्डु गोर्खाजले साविक वितेजा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको छ।

त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको थियो। जनकपुरले दिएको १३१ रनको विजयी लक्ष्य पछ्याएको काठमान्डु गोर्खाजले १८ ओभरमा ५ विकेट गुमाउँदै १३१ रनको लक्ष्य पूरा गरेको हो।

गोर्खाजका लागि ओपनर ब्याटर वेन चार्लेसवर्थले सर्वाधिक४६ रन बनाए। उनले २३ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। पहिलो विकेटका लागि उनले आकाश त्रिपाठीसँग ७० रनको साझेदारी गरेका थिए। भीम सार्की ३ रनमा क्याच भए। आकाश त्रिपाठीले ४५ बलमा ५ चौकासहित ३९ रन बनाए। मिलिन्द कुमारले २२बलमा १९ रन बनाएर क्याच भए। जोन सिम्पसन १३ रनमा एलबीडब्ल्यू आउट भए। मोहम्मद आदिल आलम ८ र जेहरार्ड इरास्मस १ रनमा अविजित रहे।

जनकपुर बोल्ट्सका लागि किशोर महतो, ललित राजवंशी, निकोल लोफ्टी इटोन र सञ्जय कृष्णमुर्ति र अनिल शाहले १-१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको जनकपुर बोल्ट्सका लागि मार्की खेलाडी रहेका आसिफ शेखले सर्वाधिक ५४ रनको अर्धशतकीय पारी खेले। उनले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरेका हुन्।

ओपनर लाहिरु मिलान्थाले ७ रन बनाउँदा कप्तान अनिल शाह डकआउट भए। निकोल लोफ्टी इटोन र सञ्जय कृष्णमुर्ति समान २-२ रनमा पेभेलियन फर्किए।

१० ओभरको खेल सकिँदा जनकपुर बोल्ट्सले ४ विकेटको क्षतीमा ५६ रन बनाएको थियो। १७ ओभरमा ५ विकेट गुमाउँदै १०० रन पूरा गरेको हो। जनकपुरका लागि मयन यादव र लाहिरु समाराकोनले छैटौं विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए। मयन यादव ३४ र किशोर महतो ४ रनमा अविजित रहे।

काठमान्डु गोर्खाजको लागि अमेरिकन अलराउन्डर मिलिन्द कुमारले सर्वाधिक ३ विकेट लिए। साहब आलम, करण केसी र सन्तोष यादवले १-१ विकेट लिए। काठमान्डु गोर्खाजले बुधबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। जनकपुरको दोस्रो खेल अर्को हप्ता सोमबार विराटनगर किंग्ससँग खेल्नेछ।

मंगलबार डबल हेडर रहेको छ। पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सले ११:४५ मा खेल्नेछन्। दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।


Published :मंसिर १, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media