प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कानुनी लडाइँ र सडक संघर्ष सुरू भएको ओलीको घोषणा

राष्ट्रपाटी न्युज

मंसिर २, २०८२

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आजबाट कानुनी लडाइँ र सडक सघंर्ष सुरू भएको घोषणा गरेका छन्। च्यासलमा विघटित संसदीय दलको बैठकमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आन्दोलन घोषणा गरेका हुन्।

उनले आफूहरूको आन्दोलन शान्तिपूर्ण र भयरहित रहने बताए। ‘आजको बैठकपछि हामी कानुनी लडाइँ र सडक संघर्षमा जान्छौं। म स्पष्ट भाषामा भन्न चाहन्छु, हाम्रो संघर्ष आगजनी, लुटपाट र तोडफोड होइन, शान्तिपूर्ण र संवैधानिक हुन्छ,’ उनले भने। आफूहरूको आन्दोलनमा प्रहरीको मनोबल उठाउने र राज्यको शाख बढाउने उनको भनाइ छ।

अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको बताए। उनले संवैधानिक तवरबाट सरकार नबनेकाले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताए। ‘यसरी सरकार बन्दैन। प्रतिनिधिसभा यसरी भंग हुँदैन। पुनर्स्थापना हुनैपर्छ। हाम्रो संघर्ष शान्तिपूर्ण र अग्रगामीका लागि हुनेछ,’ उनले भने।

उनले एमालेको संघर्षमा घुसपैठियाहरू देखिए कठालो समातेर प्रहरीलाई बुझाइने बताए। उनले आफूहरू नागरिकको जीउधनको रक्षा गर्ने गरी आन्दोलन गर्ने बताए।


Published :मंसिर २, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media