
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन थुनछेक म्याद थप गरेको छ। उक्त जानकारी जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले दिएका छन्।
म्याद थपसँगै प्रसाईं कम्तिमा ४ दिन प्रहरी हिरासतमा रहनेछन्। मंसिर ७ गते देशव्यापी आन्दोलन घोषणा गर्दै त्यसका लागि तयारी गरिरहेका प्रसाईंलाई त्यसअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले पक्राउ गरेको थियो।
प्रसाईलाई मध्यराती पक्राउ गरिएकोमा सरकारको चर्को आलोचना भएको छ । प्रसाईको संरक्षकत्वमा खुलेको नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले आफ्ना नेता प्रसाईंलाई अपहरण शैलीमा मध्यराति पक्राउ गरेर सरकारले नै शान्ति भंग गरेको आरोप लगाएका छन् । त्यसैले मंसिर ७ सम्म नपर्खी आजैबाट देशव्यापी आन्दोलन सुरु गर्न लागिएको उनले बताए ।
प्रहरीका अनुसार प्रसाईंले सार्वजनिक शान्ति भंग हुने प्रकारका अभिव्यक्ति दिएकाले उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा कारबाही अघि बढाइएको हो।