चितवनद्वारा लुम्बिनीलाई १४३ रनको लक्ष्य

राष्ट्रपाटी न्युज

मंसिर ४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौँ खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको हो।

चितवनका लागि रबि बोपाराले सर्वाधिक ६६ रनको अर्धशतकीय पारी खेले। उनले ५५ बलमा ४ चौका र ३ छक्का पहार गरे। पहिलो ओभरको दोस्रो बलमा चितवन राइनोजले ओपनर डेविड मलानलाई डकआउटको रूपमा गुमायो।

दोस्रो विकेटको रूपमा अर्का ओपनर दीपक बोहोरा स्टम्पिङको रूपमा पेभेलियन फर्किए। उनले १२ बलमा १ चौकासहति १० रन बनाए। देव खनालले १४ रन बनाउँदै क्याच भए।

कुशल मल्ल १२ रनमा कट एण्ड बोल्ड हुने सम्भवना थियो । तर शेर मल्लले उक्त क्याच लिन सकेनन्। चौथो विकेटको रूपमा कुशलको विकेट गयो। उनले १८ बलमा १ छक्कासहित २१ रनमा क्याच भए। कुशलले चौथो विकेटका लागि रबि बोपारासँग ४४ रनको साझेदारी गरे।

पाँचौँ विकेट सैफ जैब १५ रनमा कप्तान रोहित पौडेलको हातमा क्याच भए। अर्जुन साउद ८ रनमा अविजित हुँदा अन्तिम बलमा सोहिल तान्भिर ५ रनमा क्याच भए।

लुम्बिनी लायन्सका लागि रुबिन ट्रम्पलमेनले सर्वाधिक ३ विकेट लिए। अभिषेश गौतम र गुल्बदिन नैबले समान २–२ विकेट लिए।

चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो। लुम्बिनीको यो पहिलो खेल हो।


Published :मंसिर ४, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media