
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र विभिन्न शक्तिले नक्कली जेनजी परिचालन गरेर राजनीतिक दलका गतिविधिलाई निषेध गर्न खोजेको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौंमा एमालेको स्वयंसेवी दस्ता नेसनल भोलेन्टियर फोर्स (एनभिएफ)को घोषणा गर्दै ओलीले विभिन्न शक्ति र सरकार पृष्ठभागमा बसेर नक्कली जेनजी परिचालन गरी राजनीतिक दलका गतिविधिलाई निषेध गर्न खोजेको आरोप लगाएका हुन्। अरूको निर्देशन मानेर जनेजीका नाममा उपद्रो मच्चाउन नपाइने उनले बताए।
अध्यक्ष ओलीले सरकारले निर्वाचनको रटान लगाएपनि शान्तिपूर्ण भेला सभा आयोजना गर्ने वातावरणसम्म बनाउन नसकेको जिकिर गरे। सरकार असफल भए देशमा झन् ठुलो विपत्ति हुन्छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आएको भन्दै ओलीले आपत्ति जनाए।
अध्यक्ष ओलीले देशमा थप विध्वसं मच्चाउने योजना भए सपना नदेख्न सुझाव दिए। उनले संविधानबाट नभई असंवैधानिक बाटोबाट वर्तमान सरकार गठन भएको भन्दै लोकतन्त्रलाई सही बाटोमा फर्काउने उद्घोष गरे।
अध्यक्ष ओलीले १२५ दललाई वार्तामा बोलाएर प्रधानमन्त्रीले एमाले र कांग्रेसको अपमान गरेको जिकिर गरे। त्यस्तै उनले एमालेको महाधिवेशन भाँड्नका लागि विभिन्न प्रयास भइरहेको भन्दै भव्य रूपमा महाधिवेशन गरेर देखाउने बताए।
अध्यक्ष ओलीले नक्कली वामपन्थीलाई एमालेमा कुनै स्थान नभएको समेत स्पष्ट परे। उनले कसैका विरुद्ध नभई हिंसा र अराजकताका विरुद्ध भोलेन्टियर फोर्स गठन गरिएको बताए। फोर्सले एमालेको मात्र होइन एमालेसँग असहमत राख्नेहरूको पनि सुरक्षा गर्ने उनले बताए। कार्यक्रममा राष्ट्रिय युवा सङ्घका पूर्वउपाध्यक्ष पुष्पराज श्रेष्ठको संयोजकत्वमा नेसनल भोलेन्टियर फोर्स केन्द्रीय कमाण्ड घोषणा गरिएको थियो ।