सर्वोच्चको आदेशपछि मधेशका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिँदै

राष्ट्रपाटी न्युज

मंसिर १६, २०८२

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने भएका छन्। संविधानको धारा १६८ को उपधार (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका यादवलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि बुधबार विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री यादवले साँझ साढे ५ बजे मुख्यमन्त्री निवासमा पत्रकार सम्मेलनको आयोजना गरेर बुधबार दिउँसो ३ बजे अदालतले भने अनुसारको २४ घण्टाभित्र विश्वासको मत लिने भएको हो। मुख्यमन्त्री यादवले भने, ‘मलाई अदालतको पत्र आधिकारिक रूपमा हालसम्म प्राप्त भएको छैन। तर, मैले प्रदेश प्रमुखको कार्यालयबाट स्वयं फोन गरेर अदालतको आदेशको प्रतिलिपि मगाएको छु। सोही अनुसार मैले प्रदेशसभालाई दिउँसो ३ बजे विश्वासको मतको लागि समय मागेको छु। उपसभामुखज्यु, अहिले काठमाडौंमा हुनुहुन्छ, उहाँ आएपछि बाँकी कहिले बैठक बोलाउने? कुन समयमा बैठक डाक्ने र कहिले विश्वासको मतका लागि वातावरण बनाउनुहुन्छ, त्यो उहाँको विषय हो।’

पत्रकारहरूको जिज्ञासामा मुख्यमन्त्री यादवले आफूलाई सबै दलले विश्वासको मत दिने दाबी गरे। उनले भने, ‘दलहरूसँगको वार्ता सकारात्मकरूपमा अघि बढिरहेको छ। विश्वासको मत पाउँछु, त्यसमा म विश्वस्त छु। एकाध दलबाहेक सबै दल सकारात्मक छन्। त्यसैले म विश्वासको मत पाउनेमा ढुक्क छु।’


Published :मंसिर १६, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media