
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा घोषणा गरेका छन्। विश्वासको मतका लागि बुधबार दिउँसो २ बजे बसेको प्रदेशसभा बैठकमा उनले आफ्नो राजीनामा सार्वजनिक गरेका हुन् ।
‘आजकै मितिबाट म पदबाट राजीनामा दिन्छु र प्रदेश प्रमुखको कार्यालयमा गएर औपचारिक रूपमा पत्र बुझाउँछु,’ मुख्यमन्त्री यादवले बैठकमा भने।
सर्वोच्च अदालतले संविधानको धारा १६८९३० अनुसार गठन भएको आफ्नो सरकार वैध ठहर गर्दै २४ घण्टाभित्र विश्वासको मत प्राप्त गर्न निर्देशन दिएपछि, विपक्षी दलका सांसदहरू आफूसँग ‘आँखा जुधाउन नसक्ने’ अवस्थामा रहेको उनको टिप्पणी थियो। आफ्नो धारणा राख्ने क्रममा काँग्रेससहितका विपक्षी दलका सांसदहरू बैठक छाडेर बाहिरिएका थिए। सदनमा एमाले, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका सांसद मात्र उपस्थित थिए।
यादवले विपक्षी दलले सामना गर्न नसकेर बैठक त्यागेको आरोप लगाउँदै भने, आज एमालेको दलको नेताले विश्वासको मत माग्दा उनीहरू सदनबाट निस्किए। आँखामा आँखा जुधाएर बस्न सकेनन्, त्यसैले भागे ।’
यादव गत कात्तिक २३ गते संविधानको धारा १६८(३) बमोजिम ठूलो दलको नेताका रूपमा मुख्यमन्त्री नियुक्त भएका थिए र भोलिपल्ट बिहानै बर्दिबासस्थित पानस होटलमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट शपथ लिएका थिए। उक्त घटनापछि मधेश प्रदेश राजनीतिक रूपमा तनावपूर्ण बनेको थियो।
नेपाली काँग्रेससहित सातदलीय गठबन्धनका ७३ सांसदले कात्तिक २५ गते सर्वोच्च अदालतमा सरकार गठनविरुद्ध रिट दायर गरेका थिए। सोमबार सर्वोच्चले परमादेश जारी गर्दै यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएको थियो, र असफल भए धारा १६८(२) अनुसार नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न आदेश गरेको थियो।