बुढानीलकण्ठ नगरपालिका स्थापनाको ११ बर्ष पुरा, स्थापना दिवस मनाइयो

राष्ट्रपाटी न्युज

मंसिर १७, २०८२

काठमाडौँ। बुढानीलकण्ठ नगरपालिकाको १२ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम मंगलबार नगरपालिकाको प्राङ्गण, हात्तीगाँडामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नगर प्रमुख मिठाराम अधिकारीले गरेका थिए भने प्रमुख अतिथि बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा रहेका थिए । साथै राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कोटी, जिल्ला समन्वय समिति काठमाडौँका उपप्रमुख शान्ति पाण्डे, नगर उपप्रमुख अनिता लामा, प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम राष्ट्रिय गानबाट प्रारम्भ गरिएको थियो।  शहीदहरूप्रति मौनधारण गरी सम्मान व्यक्त गरिएको कार्यक्रममा उपप्रमुख अनिता लामाले स्वागत मन्तव्य राखेकी थिइन् । प्रमुख अतिथि तथा अध्यक्षले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । जुगल नवगुरुकुलका कक्षा ७ का विद्यार्थीहरूले स्वस्ति वाचन तथा बालउद्धार माध्यमिक विद्यालयका विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू राष्ट्रिय स्वतन्त्र पार्टी बुढानीलकण्ठ नगर कमिटी कार्यवाहक सभापति राधा शाह, नेपाली कम्प्युनिष्ट पार्टीका बुढानीलकण्ठ नगर कमिटी अध्यक्ष भाइ नारायण श्रेष्ठ, नेकपा एमाले बुढानीलकण्ठ नगर कमिटी अध्यक्ष प्रदीप डंगोलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गणेश माध्यमिक विद्यालयका विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरेपछि पूर्व नगर प्रमुख उद्धव प्रसाद खरेलले शुभकामना मन्तव्य राखेका थिए।

यस अवसरमा साइकल र्‍यालीमा समन्वय गर्ने संस्थाहरूलाई प्रमाणपत्र, करदाता, उपभोक्ता समिति, निर्माण व्यवसायी तथा विभिन्न संघ–संस्थालाई सम्मान, नृत्यमा सहभागी विद्यालयहरूलाई प्रमाणपत्र वितरण, तथा नगरपालिकामा उत्कृष्ट सेवा दिने कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। साथै जुगल नवगुरुकुलका कक्षा ७ का विद्यार्थीबाट आकर्षक गजल प्रस्तुति समेत गरिएको थियो।

प्रमुख अतिथि जयराम थापाले नगरको विकास, सुशासन र सेवा प्रवाहमा बुढानीलकण्ठ नगरपालिकाले देखाएको प्रगति प्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्य गर्न सरकार सधैँ साथमा रहने उल्लेख गरेका थिए ।

कार्यक्रमको अन्त्यमा नगर प्रमुख मिठाराम अधिकारीले अतिथि तथा सहभागीप्रति आभार व्यक्त गर्दै नगरको समृद्धि, सुशासन, सेवा विस्तार र नागरिकमैत्री कार्यशैलीलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रमुख अतिथि तथा विशेष अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो।


Published :मंसिर १७, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media