३८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा बुढानीलकण्ठमा अभिमुखीकरण कार्यक्रम

राष्ट्रपाटी न्युज

मंसिर १७, २०८२

बुढानीलकण्ठ। “Fostering Disability Inclusive Societies for Advancing Social Progress” वा “अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन” भन्ने नारासहित ३८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बुढानीलकण्ठ नगरपालिकामा “डिजिटल सुरक्षा, अनलाइन हिंसा र सुरक्षा योजना” विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका उप–प्रमुख अनिता लामा प्रमुख अतिथिको रूपमा उपस्थित थिइन् भने सामाजिक विकास समितिका संयोजक शान्ता ढकाल पुडासैनीले कार्यक्रमको अध्यक्षता गरेकी थिइन्।

अभिमुखीकरणमा अपाङ्गता भएका व्यक्तिहरूले डिजिटल माध्यम तथा सामाजिक सञ्जाल प्रयोग गर्दा सामना गर्नुपर्ने सम्भावित जोखिम, अनलाइन हिंसाका रूप–रूपान्तर, गोपनीयता सुरक्षा तथा सुरक्षित डिजिटल अभ्यासबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूका लागि डिजिटल पहुँचलाई अझ सुरक्षित, सजिलो र समावेशी बनाउन आवश्यक नीति तथा व्यवहारिक उपायहरूबारे सहभागीहरूलाई सचेत बनाएको छ।

उप–प्रमुख अनिता लामाले डिजिटल पहुँच र अनलाइन सुरक्षा हरेक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै भनिन्, “अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल सुरक्षामा ध्यान पुर्‍याउनु समावेशी समाज निर्माणको आधार हो।” त्यस्तै संयोजक शान्ता ढकाल पुडासैनीले डिजिटल वातावरणमैत्री नीति तथा समुदाय–स्तरको सचेतनाले मात्र उनीहरूका अधिकार सुनिश्चित हुनसक्ने बताइन्।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरू, अभिभावक, सामाजिक क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।


Published :मंसिर १७, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media