पुराना दल र नेतालाई गाली गरेर समय खेर नफ्याँक्न पार्टीका नेता-कार्यकर्तालाई रविको सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब पुराना दल र नेताहरूलाई गाली गरेर समय खेर नफ्याँक्न पार्टीका नेता-कार्यकर्तालाई सुझाएका छन् ।

यो समय नयाँ नेपालको नक्सा कोर्नुपर्ने भएको बताउँदै पुराना दलका नेता र कार्यकर्तालाई कटाक्ष गरेर बसिरहन नहुने उनले उल्लेख गरे ।

पार्टीको बृहत् राजनीतिक समायोजन कार्यक्रमलाई सोमबार राष्ट्रिय सभागृहमा सम्बोधनका क्रममा लामिछानेले अपदस्थ भएकाहरुलाई मानमर्दन गरेर समय खेर नफ्याँक्न पनि भने ।

‘अहिले हामी फरक जिम्मेवारी र भूमिकामा छौँ । मुलुकको भविष्यको जिम्मेवारी लिनुपर्ने भएकाले पुराना दल र तिनका नेता-कार्यकर्तालाई कटाक्ष गर्न बन्द गरौँ’, उनले भने, ‘हामीले अब नयाँ नेपालको नक्सा कोर्नुपर्छ । समृद्धिको बाटो पहिल्याउँदै अघि बढ्नुपर्छ ।’

उनले अब आफूहरूले कल्पना गरेको समाजको चित्र कोर्ने बेला आएको बताए । ‘हामी त्यतातिर लाग्नुपर्छ। हामी शक्तिशाली हुँदैमा अपदस्थ भएकालाई मानमर्दन गर्ने कुराबा अब हामीले आफूलाई बाहिर निकाल्नुपर्छ’, पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले भने ।


Published :पुस २१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media