
ढाका । बंगलादेशमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालमा भएका जबर्जस्ती अपहरणका घटनामा कम्तीमा २ सय ८७ जनाको मृत्यु भएको आशंका गरिएको छ ।
सरकारद्वारा गठित एक अनुसन्धान आयोगले १ हजार ५ सय ६९ अपहरणका घटनाको छानबिन गर्दा तीमध्ये २ सय ८७ जना मृत मानिएको जनाएको हो ।
आयोगका अनुसार मृतकहरूको शव ढाकाको बुरिगंगासहित विभिन्न नदीमा फ्याँकिएको तथा सामूहिक चिहानमा गाडिएको हुन सक्ने अनुमान गरिएको छ । विभिन्न स्थानमा चिह्न नलगाइएका चिहानहरू फेला परेको आयोगले जनाएको छ ।
आयोगको अन्तिम प्रतिवेदनमा सुरक्षा निकायहरूले शेख हसिना र उनका शीर्ष अधिकारीहरूको निर्देशनमा उक्त काम गरेको उल्लेख छ । अपहरणमा परेका मध्ये धेरैजसो हसिनाविरुद्ध रहेका जमात–ए–इस्लामी र बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का सदस्य रहेको प्रतिवेदनले जनाएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार सत्ता जोगाउन गरिएको दमनका क्रममा करिब १ हजार ४ सय जनाको ज्यान गएको थियो ।
हाल भारतमा निर्वासन जीवन बिताइरहेकी शेख हसिनालाई मानवताविरुद्धको अपराधमा उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको छ । हसिना १९९६ देखि २००२ सम्म पहिलो र २००९ देखि २०२४ सम्म दोस्रो कार्यकाल बंगलादेशको प्रधानमन्त्री थिइन् । (रासस/एएफपी)