कांग्रेसको विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा, ६ स्थानबाट र्‍याली निकालिने

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवशेन पक्षधरले उद्‍घाटन समारोहमा विभिन्न ६ स्थानबाट र्‍यालीसहित नेता तथा कार्यकर्ता महाधिवेशनस्थल भृकुटीमण्डपमा पुग्ने जनाएको छ।

कांग्रेस विशेष महाधिवेशनका सन्दर्भमा गठन भएको जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभिन्न ६ स्थानमा भेला भएर नेता तथा कार्यकता र्‍यालीसहित महाधिवेशनस्थल भृकुटीमण्डपमा पुग्ने जनाएको हो। सुन्धरा, रत्नपार्क, बागबजार, पद्मोदय मोड, कमलपोखरी र कुपण्डोलबाट र्‍याली आयोजना गरिने जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिका संयोजक जगदिश्वर नरसिंह केसीले जानकारी दिए।

विशेष महाधिवेशनका लागि जनपरिचालनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए। उनले उद्‍घाटन सत्रमा पार्टीका सभापतिलगायतका नेताहरू उपस्थित हुने विश्वास व्यक्त गरे। केसीले विशेष महाधिवेशनका लागि गठन गरिएको अन्य समितिहरूले पनि आफ्नो तयारी अन्तिम चरणमा पुर्‍याएको बताए। कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते भृकुटीमण्डपमा विशेष महाधिवशेन आयोजना गरेका हुन् ।


Published :पुस २५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media