रास्वपा र उज्यालो नेपालको एकता भाँडियो, कुलमानले उनेपाको अध्यक्ष पद सम्हाल्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भंग भएपछि पूर्वमन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको अध्यक्ष पद सम्हाल्दै छन् ।

पार्टीले शनिबार औपचारिक रूपमा उनलाई अध्यक्ष पदमा स्वागत घोषणा गर्न लागेको हो । उज्यालो नेपालका केन्द्रीय सदस्य डा. महेन्द्र लावतीका अनुसार नवनियुक्त अध्यक्ष कुलमान घिसिङसँग प्रेस भेटघाट कार्यक्रम आयोजना गरिँदैछ।

प्रेस भेटघाट कार्यक्रम शनिबार साँझ ६ बजे त्रिपुरेश्वरस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुनेछ। कुलमान को अध्यक्षतामा उज्यालो नेपालले आगामी राजनीतिक गतिविधि र पार्टी सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने लावतीले बताएका छन् ।

गत १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको एकता सहमति दुई सातामै भाँडिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वमन्त्री कुलमान घिसिङबीच शुक्रबार र शनिबार भएको छलफल निष्कर्षविहीन भएपछि दुई सातामै सहमति भाँडिएको हो।

सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा दलीय प्रतिनिधित्व गरेको भन्दै चर्को आलोचना भएपछि कुलमानले ऊर्जा, जलस्रोत तथा सिँचाइसहित तीन मन्त्रालयबाट राजीनामा दिएर रास्वपासँग वार्तामा बसेका थिए ।

पुस १४ मा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान र रास्वपा सभापति लामिछानेबीच पार्टी एकतामा सहमति भएको थियो। त्यही सहमतिअनुसार कुलमानलाई रास्वपाको उपसभापति बनाउने निर्णय गरिएको थियो।

तर कुलमानले रास्वपासँग पार्टीको विचारधारा परिवर्तन गर्नुपर्ने, लोकतान्त्रिक होइन वामपन्थी पार्टी बनाउनु पर्ने र केन्द्रीय सदस्य ३३ जना चाहिने माग गरेका थिए ।

त्यसैगरी वरिष्ठ उपसभापति पद र एक महामन्त्री पद पनि कुलमनले मागेका थिए । उनले पार्टीको विचारधारा समाजवाद राख्नुपर्ने प्रस्ताव पनि गरेका थिए ।

सुदन गुरूङले बौद्धबाट उठाएर एकताको सहमति गराए पनि विचारधारासहितका मुद्दामा विवाद चर्किएसँगै कुलमान र रास्वपाको एकता सहमति भाँडिएको हो। अब कुलमानले उज्यालो नेपाललाई सम्हालेर अघि बढ्ने भएका हुन् ।


Published :पुस २६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media