विशेष महाधिवेशनपछि कांग्रेसले ‘राष्ट्रिय पुनर्जागरण अभियान’ सञ्चालन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले देशभर ‘राष्ट्रिय पुनर्जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमार्फत उक्त अभियान अघि बढाउने घोषणा गरिएको हो।

राजनीतिक प्रस्तावमा विशेष महाधिवेशनले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने ऐतिहासिक निर्णय गरेको उल्लेख छ। प्रतिवेदनमा भनिएको छ, “निराशा, घृणा र प्रतिशोधको राजनीतिलाई परास्त गर्दै जनताको हृदयमा आशा, विश्वास र सुरक्षाको भावना जागृत गर्नु, राजनीतिलाई जनमुखी र समाजकेन्द्रित बनाउनु, आम नागरिकमा गुम्दै गएको आत्मविश्वास र राष्ट्रिय स्वाभिमान पुनर्स्थापित गर्नु तथा लोकतान्त्रिक संस्कारको प्रवर्द्धन गर्नु यस अभियानको मुख्य उद्देश्य हो।”

अभियानले व्यक्तिगत स्वार्थ र गुटबन्दीको अन्त्य गर्दै विभिन्न पुस्ता, क्षेत्र र समुदायबीच आपसी संवाद र सहकार्यलाई सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ। साथै राष्ट्रिय आत्मविश्वास, सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्न अभियानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

महामन्त्री थापाका अनुसार पुनर्जागरण अभियानमा पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई राजनीतिक तथा सामाजिक–सांस्कृतिक जिम्मेवारीसहित परिचालन गरिनेछ।

“यस अभियानले समाजलाई घृणा, द्वेष र प्रतिशोधबाट माथि उठाएर राष्ट्रका साझा मुद्दामा साझा दृष्टिकोण निर्माण गर्न सहयोग पुर्‍याउनेछ, राष्ट्रिय स्वाभिमान अभिवृद्धि गर्नेछ तथा अन्तरपुस्ता सहकार्य र अन्तरतह समन्वयको वातावरण सिर्जना गर्नेछ,” प्रतिवेदनमा उल्लेख गरिएको छ। संविधानको आधारशिलामा उभिएर समुन्नति, स्वतन्त्रता र समानताको प्रवर्द्धन गर्दै आम नागरिकको हृदयमा नयाँ जागरण र भरोसाको किरण छर्ने अभियानको लक्ष्य रहेको थापाले बताएका छन्।


Published :पुस २८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media