निर्वाचन आयोगमा गगनले बुझाए नयाँ केन्द्रीय समितिको विवरण र निर्णय

काठमाडौँ । विशेष महाधिवेशनबाट गठन भएको नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिबारे सभापति गगन थापाले निर्वाचन आयोगमा औपचारिक विवरण बुझाएका छन्।

बिहीबार निर्वाचन आयोग पुगेर सभापति थापाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई पार्टीको नयाँ कार्यसमिति सम्बन्धी विवरण अध्यावधिकका लागि बुझाएका हुन्। निर्वाचन ऐनअनुसार नयाँ नेतृत्व चयनबारे आयोगलाई जानकारी गराइएको थापाले बताए।

आयोगमा कागजात बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने, “अध्यावधिक गरिदिनुहोला भन्ने निवेदनसहित आएका हौं। नयाँ कार्यसमिति गठन भएको पुष्टि हुने सबै आवश्यक कागजात हामीले बुझाएका छौँ।”

केही दिनभित्रै निर्वाचन आयोगले विवरण अध्यावधिक गर्ने विश्वास आफूहरूले लिएको उनले बताए। माघ ६ गते प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ताको समय रहेकाले आयोगले समयमै अध्यावधिक गर्नेमा पूर्ण विश्वास रहेको पनि थापाको भनाइ थियो।

थापा नेतृत्वको नेपाली कांग्रेसको आज विहान बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची र मनोनयनको हस्ताक्षर संशोधन गर्ने निर्णय गरेको थियो ।

यसअघि कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको थियो । जसमा सभापति शेरबहादुर देउवको हस्ताक्षर रहेको थियो। अब थापाको हस्ताक्षर रहने निर्णय गरिएको प्रवक्ता देवराज चालिसेले बताएका छन् ।

त्यस्तै, विशेष अधिवेशनबाट निर्वाचत कार्यसमितिबारे पनि अध्यावधिक गर्ने निर्णय गरेको चालिसेले जानकारी दिए । ‘पार्टीको दोस्रो विशेष महाधिवेशनपछि विगतको अभिलेखलाई रिप्लेस गर्दै नयाँ आवधिक गर्ने निर्णय भएको छ,’ उनले भने ।


Published :माघ १, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media