एमालेले माघ ४ देखि चुनावी अभियान औपचारिक रूपमा सुरु गर्ने

काठमाडौं । नेकपा एमालेले माघ ४ गतेदेखि चुनावी अभियान औपचारिक रूपमा सुरु गर्दै काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भएको छ।

पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलले माघ ४ गते काठमाडौँमा विशेष जनप्रदर्शन आयोजना गरी फागुन २१ गते हुने निर्वाचनका लागि अभियानमा होमिने तयारी पूरा भएको जानकारी दिए।

उनका अनुसार बागमती प्रदेश कमिटीको आयोजनामा जनप्रदर्शनपछि प्रज्ञा भवनमा हुने सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। उक्त सभाबाट अध्यक्ष ओलीले चुनावी अभियानका लागि आवश्यक निर्देशन दिने पनि उनले बताए।

ढुङ्गेलका अनुसार बागमती प्रदेशका १८ सिटमध्ये अधिकतम सिट जित्ने लक्ष्यसहित एमालेले रणनीति बनाइरहेको छ।

यस्तै, पार्टी सचिव महेश बस्नेतले माघ ४ गतेबाट एमाले औपचारिक रूपमा चुनावी प्रतिस्पर्धामा प्रवेश गर्ने बताए। उनले चुनावी तयारी भइरहँदा पनि सरकारले अनुकूल वातावरण बनाउन नसकेको आरोप लगाए।

आगामी निर्वाचनमा एमालेले सबैभन्दा ठूलो दल बन्ने विश्वास पार्टीको रहेको उनले बताए।


Published :माघ १, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media