निर्वाचन आयोगअगाडि कांग्रेसका दुवै पक्षको नाराबाजी, सुरक्षा व्यवस्था कडा

काठमाडौं । निर्वाचन कार्यालयको मूल गेटमा नेपाली कांग्रेसका दुवै पक्षहरूले धर्ना दिएका छन्। संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरका नेता-कार्यकर्ताहरूले कान्तिपथस्थित आयोगको मूल गेटमा धर्ना दिएका हुन्।

संस्थापन पक्षले विशेष महाधिवेशनलाई स्वीकार गर्न नसक्ने र विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्वलाई मान्यता दिनुपर्नेजस्ता मागसहित नाराबाजी गरिरहेका छन्।

दुई पक्षबीच झडप हुनसक्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ। कान्तिपथमा सयौं प्रहरी परिचालन गरिएको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा विवाद सुरू भएको हो। शुक्रबार विहानदेखि कांग्रेसका दुवै पक्ष आयोगमा पुगिरहेका छन्। दुवै पक्षले आयोग समक्ष आफूहरू विधान सम्मत रहेको दाबी गरेका छन्। यस विषयमा आयोगले केही धारणा सार्वजनिक गरेको छैन ।


Published :माघ २, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media