झापा पुगेका ओलीले भने- एमालेको जित सुनिश्चित छ

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित रहेको दाबी गरेका छन्। शुक्रबार चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले झापा एमालेमय बनेको जिकिर गरे।

झापाका मतदाता एमालेको पक्षमा रहेको उल्लेख गर्दै ओलीले भने, “सूर्यको जित पक्का छ।” उनले चुनावी अभियान र माहोल उत्साहजनक रहेको बताउँदै यसपटक युवाको सक्रिय सहभागिता बढेको दाबी गरे। युवाहरू स्वतःस्फूर्त रूपमा एमालेको पक्षमा प्रचारप्रसारमा लागेको उनले बताए।

नयाँ पुस्ता राजनीतिमा आउनु सकारात्मक भएको उल्लेख गर्दै ओलीले सत्य र विकासको पक्षमा जनता उभिएकाले कुनै पनि षड्यन्त्रले एमालेको जित रोक्न नसक्ने दाबी गरे।

शुक्रबार काठमाडौँबाट झापा पुगेका ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। उम्मेदवारी दर्तापछि उनले माघ १० गतेसम्म घरदैलो अभियान सञ्चालन गरेका थिए। अब दुई दिन झापा–५ अन्तर्गत कमल गाउँपालिकाका विभिन्न वडामा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भएको एमाले झापाले जनाएको छ। उनी एक साता झापामै विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

यसै क्रममा ओलीले नयाँ पुस्ता राजनीतिमा आउँदा आफूलाई खुसी लाग्ने पनि बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै उनले राजनीति सिक्न भन्दै प्रतिस्पर्धामा आउनुलाई नकारात्मक रूपमा लिन नहुने धारणा राखे।

“भिड्न आउँछु भन्नेलाई स्वागत गर्छु, खुसी लाग्छ,” उनले भने, “हाम्रा भाइ, भतिजा, छोरा र नातिहरूको पुस्ताले राजनीति सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कारण छैन।”

झापा–५ मा ओलीसँग रास्वपाका नेता शाह र नेकपाका युवा नेता रञ्जित तामाङ चुनावी प्रतिस्पर्धामा छन्।


Published :माघ २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media