आपराधिक तत्त्व घुसेर आन्दोलनलाई हिंसात्मक बनाए, मलाई हत्यारा आरोप लगाइयो : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाइएका आरोपहरू जनताले पत्याउन नसक्ने बताएका छन्।

सोमबार झापाको गौरीगञ्ज गाउँपालिका–देवीगञ्जमा स्थानीय मतदातासँगको छलफल कार्यक्रममा बोल्दै उनले भदौ २३ र २४ गते भएको जेनजीहरूको आन्दोलनमा आपराधिक तत्त्वहरू घुसेर विध्वंस मच्चाएको दाबी गरे।

ओलीले भने, “तिनै आपराधिक तत्त्वहरूले उल्टै मलाई गोली चलाएर मान्छे मारेको आरोप लगाएका छन्। प्रधानमन्त्रीको हैसियतमा मैले कसैलाई पनि गोली चलाउन आदेश दिएको छैन। संसद् भवन र सिंहदरबार जलाउने प्रयास गरेर प्रहरीलाई गोली चलाउने वातावरण अपराधीहरूले नै बनाएका हुन्।”

देश विकासमा एमालेले सबैभन्दा धेरै काम गरेको दाबी गर्दै उनले गोबर र गुइँठा बाल्ने अवस्थाबाट बिजुली बाल्ने अवस्थामा देश पुगेको उल्लेख गरे। उक्त भनाइलाई केहीले तोडमोड गरेकोप्रति उनले आपत्ति जनाए।

ओलीले नेपालमा ग्यास उत्खनन भइसकेको दाबी गर्दै अब त्यसलाई सदुपयोग गरी घर–घरमा पाइपमार्फत ग्यास वितरण गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवारसमेत रहेका ओली हाल स्थानीय तहमा पुगेर मतदातासँग प्रत्यक्ष छलफलमा केन्द्रित छन्। सो क्रममा स्थानीयले मोबाइल नेटवर्क कमजोर रहेको भन्दै टेलिफोन टावर निर्माणको माग गरेका छन्।

स्थानीय सीताराम यादवले मोबाइल राम्रोसँग नटिप्ने भएकाले टावर आवश्यक रहेको बताए।


Published :माघ २६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media